
सुनसरी :अर्घाखाँचीको मालारानी गाउँपालिका–१ की मनिषा बिककी २१ महिनाकी छोरी आध्या बिक ‘हाइपरम्याङ्गानेसेमिया’ नामक अत्यन्तै दुर्लभ स्नायु सम्बन्धी रोगबाट पीडित थिइन्। प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने बालिका केही समयपछि एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि परिवारमा गम्भीर चिन्ता उत्पन्न भएको थियो।
धेरै प्रयासपछि उनलाई काठमाडौं मेडिकल कलेज (KMC) ल्याइएको थियो, जहाँ नेपालकै पहिलो डीएम (डाक्टर अफ मेडिकल ) पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको नेतृत्वमा उपचार सुरु भयो। (एमआरआई ) तथा अन्य परीक्षणपश्चात् डा. मिश्रले आध्यालाई विश्वमै दुर्लभ मानिने हाइपरम्याङ्गानेसेमिया रोग पुष्टि गरे ।
मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने यो रोगको उपचार अत्यन्त चुनौतीपूर्ण मानिन्छ। तर, डा. मिश्र र उनको टोलीले सुरु गरेको तत्कालीन उपचार सफल भयो। केही हप्तामै आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने भएकी छन्।
“छोरी अब कहिल्यै हिँड्न सक्दिन भन्ने डर लागिरहेको थियो, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनिषा बिकले भनिन्।
नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक अवस्थामा रहेको बेलामा यति जटिल रोगको सफल पहिचान र उपचार ऐतिहासिक मानिएको छ। डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकाससम्बन्धी विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन्।
केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको परिणाम मानिएको छ। डा. शर्माको स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजलाई उनले चिकित्सा सेवा मात्र नभई सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं वा नोबेल मेडिकल कलेज ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान सेवा दिने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने देशका सात स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यस्ता मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई थप बलियो बनाएको छ।