![](https://kolenews.com/wp-content/uploads/2025/01/IMG-20250110-WA0014.jpg)
धरान: नेपाल सरकारकी संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन ऐन संसोधन हुन नसक्दा धेरै कामहरु प्रभावित बनेको बताउनु भएको छ ।
मन्त्री विकले नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ले धरान नगर समितिको पार्टी कार्यालय आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।
राज्यमन्त्री विकले नीति, ऐन नियम नै संसोधन गर्न नसक्दा अहिलेको परिस्थितिमा वन ऐनमा टेकेर धेरै काम गर्न नसकेको बताउनुभयो । उहाँले पूर्वको झापा, मोरङ लगायतका जिल्लामा हात्ती आतंकले सर्वसाधारणले ज्यान गुमाउनु परेको अवस्थासँगै त्रसित रुपमा जीवनयापन गर्नुपर्ने अवस्थामा मोरङको सुन्दर हरैचामा यस सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले ऐन संसोधन नभएका कारण छोटो समयमा वन डिभिजन कार्यालयले काम गर्न अप्ठेरो परेकोले नीति, नियम तथा निर्देशिका यसका लागि आवश्यक पर्ने बताउनुभयो । पुरानो ऐनले काम गर्न अफ्ट्यारो परेका कारण संघको वन तथा वातारण मन्त्रालयले निकुञ्जको ऐन नियमावली परिवर्तन गर्ने, राहतका निर्देशिका र वन ऐन संसोधन गर्ने काममा लागि परेको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा ७० प्रतिशत वन रहेका कारण वनको संरक्षणसँगै वनबाट नै रोजगारी प्रदान गर्ने वातावरण सिर्जना गर्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले विगतदेखि नै एउटा दलले वहुमत नल्याउँदा राजनीतिक अस्थिरता बढेको बताउदै यसमा सबैभन्दा बढी समस्या पार्टीभित्र भएको गुटउपगुट भएको बताउँनुभयो । उहाँले नेपाली काँग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा एक्लो सरकार निर्माणको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री विक पूर्वमा रहेको हात्ती आतंकका विषयमा छलफल गर्न शुक्रबार नै मोरङको सुन्दर हरैचा पुग्नु भएको छ । त्यहाँ पुगेर सम्बन्धित पक्षसँग हात्तीको आतंकबाट जनधनको क्षति न्यूनिकरणका विषयमा छलफल समेत गर्ने बताइएको छ ।