
धरान–१५ स्थित होटेल ईजी राइडरमा कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते पहिलो प्रदेश स्तरीय बियर महोत्सव हुने भएको छ।
उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो । अध्यक्ष विजय श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टल हुने महोत्सवका संयोजक नवीन तामाङले बताए ।
उनका अनुसार भिन्न स्वाद भिन्न कम्पनीहरूका फरक फरक ब्रान्डका अल्कोहलको मात्रा फरक फरक भएका बियरहरू एकै स्थानमा बियर पारखीहरूको लागि प्रदर्शन, अवलोकन र टेष्टिङको व्यवस्था गरिने बताइएको छ ।
सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु स्टलमा राखिने छन् । महोत्सवमा लगभग १ लाख सङ्ख्यामा उपभोक्ताहरू व्यवसायीहरू सहभागी हुने बताइएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले नेपाल सरकारको मदिरा ऐन २०३१, मूल्य अभिवृद्धि ऐन २०५२, अन्तःशुल्क तथा आयकर ऐन २०५८ को परिधिभित्र रही महोत्सव गरिने बताए । उनले भने ‘चाडपर्वहरूलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पनि सहजता प्रदान गर्ने मनसायले बियर उत्सवप्रति सङ्घले सकारात्मक दृष्टिकोण राखेको हो ।’
उनले बियर महोत्सव मदिरा मात्र नभई सेवनले स्वास्थ्यको लागि फायदाजनक पनि रहेको कुरा तथा बियर कुन विधिबाट बन्छ र कति प्रकारका बियरहरू हुन्छ भन्ने बारे जानकारी गराइने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा विभिन्न प्रकारका खानाका स्टलहरू समेत रहने भएको छ ।