धरान – १२ पब्लिक हाई स्कुलको सभा हलमा शुक्रबार पुरस्कार वितरण–सम्मान कार्यक्रम गरि ‘चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोष’ बाट नगदसहित ४ जना पुर्ब शिक्षकहरु सम्मानित भएका छन।
धरानको शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्याएका शिक्षकहरु चन्द्रकला प्रधान, गोकुल प्रसाद श्रेष्ठ, महेन्द्र झा र कमल पोखरेल सम्मानीत भएका हुन् ।
उनीहरूलाई जनही १० हजार एक सय रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोषका अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय समितिका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले सम्मान गरे ।
कार्यक्रममा विश्वकर्माले राजनीतिलाई शुद्ध बनाउने नाममा शिक्षक, प्राध्यापकलाई आस्था राख्न समेत नपाउने कुरा उठिरहेको बताए । उनले शिक्षक प्राध्यापक, डाक्टर, पाइलट राजनितीमा नआउने हो भने कस्तो राजनीति हुन्छ ? भन्दै प्रश्न समेत गरे । काङ्ग्रेसले शिक्षक सङ्घमा आवद्धता गराउने पनि बताए । उनले भने, ‘राजनीति गर्नु भनेको बर्दाद हुनु होइन ।’ उनले शिक्षकलाई राजनीतिबाट अलग राख्न गलत भाष्य निर्माण गर्न खोजिरहेको पनि बताए ।
कोषका अध्यक्ष तिलक राईले साढे ३ लाख रुपैयाँ कोषमा भएको बताए । दुई वर्षको दुई दुई जना गरेर चार जनालाई सम्मान गरेको पनि जानकारी दिए । शिक्षक मात्र नभई विद्यार्थीहरुका लागि पनि कार्यक्रम बनाउने तयारी भइरहेको उनले बताए । कार्यक्रमको संयोजन नेपाल शिक्षक सङ्घ धरान नगर समितिले गरेको थियो ।