धरानको सिद्वी नेवा: परिषदको आयोजनामा आज मंगलवार सामुहिक गाईजात्रा “सापारु” निकालेका छन।
आजको दिन नेवार समुदायले १ बर्ष भित्र मृत्यु भएको आफन्त परिवारले सामाजिक रुपमा एक आपसमा समवेदना व्यक्त गर्दै मृतकका आत्मप्रती श्रद्वान्जली अर्पण गर्दै सापारु निकाल्छन।
मृत्यु भएको परिवार सदस्य र पितृको सम्झनामा परिवारको सद्स्यलाई गाईको प्रतिकमा शृङ्गार गरेर प्रर्दशन गर्ने चलन रहेको छ। धरानमा सिद्धि नेवाः परिषद्ले २०५२ साल देखि सामूहिक गाईजात्रा सुरु गरेको हो ।
सिद्वी नेवा: परिषदले आज बिहान सिद्वी नेवा: भवनमा गरेको कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले नेवार समुदायले आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्दै निधन भएका आफ्ना परिवार सदस्य र पितृको सम्मान गर्दै सापारु आयोजनाले नेवार समुदायकै गौरव बढाएको बताएका छन।
गाइजात्रा निकाल्दा सोही वर्ष भित्र दिवङ्गत भएका व्यक्तिहरूले वैतरणी पार गर्ने जनविश्वास रही आएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राजबिमल श्रेष्ठले बताए ।
यस वर्षमा मृतकहरूको सम्झनामा ३१ वटा गाईहरू सामूहिक रूपमा निकालिएको छ । धरान-७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरेको थियो। भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो ।
भिडियो पनि हेर्नुस: