
सुनसरी: कोशी प्रदेश प्रहरी अस्पतालको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भएका छन् ।
प्रहरी अस्पतालको आयोजना र देवानगञ्ज गाउँपालिकाको व्यवस्थापनमा आज आईताबार सुनसरीको देवानगञ्ज गाँउपालिकामा भएको एकदिने निशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी नागरिक लाभान्वित भएको अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा. सरोज सिंहले जानकारी दिनुभयो ।
शिविरमा नाक, कान, घाँटी परिक्षण रगत, सुगर, प्रेसर जाँच र इसीजी लगाएत सेवा प्रदान गरी निःशुल्क औषधि समेत वितरण गरिएको डा. सिंहले बताउनुभयो । उनका अनुसार कोशी प्रदेश प्रहरी अस्पतालले गरिरहेको सेवाको प्रचारका लागि शिविर आयोजना गरिएको उहाँको भनाइ छ । “धेरै जनामा प्रहरी अस्पतालले प्रहरी र तिनका परिवारको मात्र उपचार गर्छ भन्ने भ्रम छ, जसलाई चिर्न निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो ।
शिविरमा प्रदेश प्रहरी अस्पताल, जिल्ला अस्पताल ईनरुवा र सप्तकोशी न्यूरो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा वरिष्ठ मुख तथा अनुहार शल्यकृया चिकित्सक, वरिष्ठ जनरल फिजिसियन, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ, वरिष्ठ अर्थोपेडिक विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञले सेवा प्रदान गरेका थिए ।