कोले न्युज
धरानमा शनिवार भएको पाँचौँ मिस्टर कोशी उपाधि विनोदकुमार नेपालीले हात पारेको छ। शारीरिक सुगठन प्रतियोगितामा भिजन फिटनेसका विनोद पाँचौँ मिस्टर कोशी घोषित भए।
प्रतियोगिता एलाइनेट जिम धरानले आयोजना गरेको हो । जिमको २१ औ शारीरिक सुगठन प्रतियोगितामा उपाधिसँगै नगद १ लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैयाँ बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् ।
प्रतियोगितामा धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान उपविजेता रहे । तेस्रो स्थान न्युट्रि हब तरहराका प्रदीप महतोले प्राप्त गरे । एनिटाइम्स फिटनेसका उमेश राई चौथो र झुनाज फिटनेसका उत्सव लिम्बु पाँचौँ स्थानमा रहे ।
उनीहरूले क्रमशः नगद ५० हजार, ४० हजार, ३० र पाचौले नगद २० हजार रुपैयाँ पुरस्कार तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान, मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोदकुमार नेपाली, मस्किलर म्यान फ्लेक्स फिटनेस केराबारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटनेस घोषित भए । उनीहरूले जनही नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
समापनमा उनीहरूलाई प्रमुख अतिथि कोशि प्रदेश सभा सदस्य विजयकुमार राई, सभापति एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरान १८ का वडाध्यक्ष प्रवीण राई, धरान-८ का वडाध्यक्ष धनबहादुर राई, एसपी भीम दाहाल लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको मुख्य निर्णायक शिव मुखिया र हरि धिमाल, इश्वरलाल उदास, नवनीत प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ थिए।
धरान-१३ अमर सवा समाजको कभर्डहलमा भएको प्रतियोगितामा ५५ केजी तौल समूह वाट ५ जना, ६० केजी वाट ६ जना, ६५ केजी वाट ५ जना, ७० केजी र ७५ केजी वाट ३/३ जना गरी २२ जना उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।