
धरान: दोस्रो धरान सिटी रनिङ कप अन्तरक्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा स्वर्णिम फुटबल क्लबले पटनाली फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ।
धरान–१६ स्थित धरान रङ्गशालामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा स्वर्णिमको जितका लागि निमा तामाङले दुवै गोल गरे। उनले पहिलो हाफको आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै स्वर्णिमको जित सुनिश्चित गरे।
दुई गोल गरेका तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद २ हजार रुपैयाँसहित मेडल प्राप्त गरे।
धरान सिटी फुटबल क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा धरानका आठ स्थानीय क्लब सहभागी छन्। प्रतियोगितामा फेयर सिटी क्लब धरान–१७, स्वर्णिम क्लब धरान–१०, लिब्जु क्लब धरान–६, धरान सहरी क्लब धरान–८, तेम्बे क्लब धरान–१८, पटनाली क्लब धरान–१७, यालम्बर क्लब धरान–११ र विशेषता क्लब धरान–१६ सहभागी छन्।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसमेत पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई समेत पुरस्कृत गरिनेछ।

