समाज

गुरु लाफयङको ८३औँ जन्मजयन्तीमा मुन्धुम पाठशाला उद्घाटन

​इलाम: मुन्धुमविद् तथा किराँत सत्यहाङमा धर्मका संरक्षक गुरु लाफयङ (श्री देवबहादुर तुम्बापो) को ८३औँ शुभजन्मोत्सवको पावन अवसरमा विविध धार्मिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। इलामको चुलाचुलीमा आयोजित विशेष समारोहका बीच जन्मोत्सव मनाउनुका साथै ‘मुन्धुम पाठशाला’ को उद्घाटन, ‘सानो गुरु बद्रीनन्द’ को सालिक अनावरण तथा विश्व शान्तिको कामनासहित ‘माङ्गेना चोत्लुङ’ (सृष्टि शान्ति तथा शिर उठाउने) अनुष्ठान सम्पन्न गरिएको हो।

​फाल्गुनन्द नोमाङ्गेना सेवा संघ, माङ्गेना माङ्हिम तथा बहुभाषिक पाठशालाका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय विदुरकुमार लिङ्थेप प्रमुख अतिथिका रूपमा सहभागी थिए।

​समारोहमा विशिष्ट अतिथिका रूपमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, किराँत सत्यहाङमा सेवा संघका केन्द्रीय अध्यक्ष, मूर्तिकार तथा साहित्यकार ज्ञानोदय लाओती र त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर तथा नवोदय उच्च मावि एवं युएन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लाओती योङहाङको उपस्थिति रहेको थियो।

​समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लिङ्थेपले धार्मिक, सांस्कृतिक तथा शैक्षिक अभियानहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश तथा स्थानीय सरकारको साथ र सहयोग अपरिहार्य रहेको बताए। विगतदेखि नै यस्ता अभियान र पाठशालालाई सहयोग गर्दै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

​कार्यक्रमका सभाध्यक्ष डम्बरकुमार तुम्बापोले नवउद्घाटित मुन्धुम पाठशाला तथा सम्बन्धित संस्थाको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि स्थानीय सरकारले विशेष जिम्मेवारी लिनुपर्नेमा जोड दिए। विगतदेखि सञ्चालनमा रहेको बहुभाषिक पाठशालालाई आवश्यक विद्यार्थी स्रोत, जनशक्ति र भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो।

मुन्धुम पाठशाला स्थापनाका लागि निःस्वार्थ जग्गा प्रदान गर्ने जग्गादाताहरूलाई प्रमुख अतिथि मन्त्री लिङ्थेपले दोसल्ला ओढाएर विशेष सम्मान गरेको थियो। त्यसैगरी, पाठशाला निर्माण र सञ्चालनमा आर्थिक सहयोग पुर्‍याउने दाताहरूलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रमकै दौरान फक्ताङलुङ यात्रा समितिका कोषाध्यक्ष टेकराज निङ्लेखु र सचिव सङ्गीता थलङले यात्राको आयव्यय सहितको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो।

​उक्त समारोहमा चर्चित राष्ट्रिय कलाकार तथा अभियन्ता धिरज राईलाई “बुद्ध नेपालमा जन्मिएका हुन्” अभियानमार्फत पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि मन्तव्य राख्दै गायक राईले चुलाचुलीमा भइरहेका मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक अभियानहरू देखेर आफू निकै उत्साहित र खुसी भएको बताए।

​धार्मिक अनुष्ठान, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा भक्तजनहरूको झाँकी प्रदर्शन भएको थियो। उक्त कार्यक्रममा दिउँसो र साँझ विशेष सांगीतिक प्रस्तुतिसमेत राखिएको थियो। राष्ट्रिय कलाकार धिरज राई र गायक विकास तुम्बापोको सांगीतिक प्रस्तुतिले उपस्थित हजारौँ दर्शक तथा भक्तजनलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

​गुरु लाफायङको ८३औँ जन्मोत्सवको सम्मानमा चुलाचुली गाउँपालिकाले पालिकाभर स्थानीय बिदासमेत दिएको थियो। बिदाका कारण विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

​ऐतिहासिक समारोहले किराँत मुन्धुमी दर्शन, भाषा, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ। मुन्धुम पाठशालाको सञ्चालन र सानो गुरु बद्रीनन्दको सालिक अनावरणले यस क्षेत्रको धार्मिक पर्यटन तथा सांस्कृतिक इतिहासको जगेर्नामा कोसेढुङ्गा साबित हुने विश्वास आयोजकले लिएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले