
धरान: विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा निराजन युवा क्लब धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। शनिबार बिहान आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, व्यवसायी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
निराजन युवा क्लबका अध्यक्ष सन्जु राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेश इवारम प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इवारमले निराजन युवा क्लबले विगतमा गर्दै आएका सामाजिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजको हितमा रचनात्मक तथा प्रभावकारी कार्य गर्न सुझाव दिए। संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई संरक्षण गर्दै निरन्तर सक्रिय बनाइराख्नु नेतृत्व तथा पदाधिकारीहरूको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए। संस्थालाई जीवन्त राख्दै समुदायको आवश्यकता र हितअनुसारका गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा धरान–१५ का कार्यपालिका सदस्य तथा वडा सदस्य सृजना नेपाल, वडा सदस्यहरू बादल भट्टराई र रचना नेपालीलगायतको उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यका क्रममा सुनौलो महिला समूहकी उपाध्यक्ष गंगा निरौला तथा समाजसेवी एवं व्यवसायी आनन राईले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने बताए। यस्ता कार्यक्रमले स्थानीय समुदायबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
त्यसैगरी, निशान त्रिभ्याली टोल विकास संस्थाका अध्यक्ष तुलाराम राई र महिला सञ्जाल धरानकी अध्यक्ष सावित्री इवारमलगायतले पनि चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा हातेमालो महिला समूहकी अध्यक्ष कल्पना लिम्बू, गृह श्रमिक महिला ढाका लघु उद्यमी समूहकी अध्यक्ष प्रेमकुमारी राई, कुमारी बैंक लिमिटेड धरान शाखाका प्रमुख आशिष राई, लिम्बू पत्रकार संघ सुनसरीकी अध्यक्ष स्वर्णीमहाङ फोम्बो, शीतल मार्ग टोल विकास संस्थाका अध्यक्ष भुपाल तामाङ, दशरथ पथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा, हाम्रो टोल विकास संस्थाका अध्यक्ष ईन्द्रप्रसाद राई, नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राई, निराजन टोल विकास संस्थाका सचिव कृष्ण थेवे, शिवगंगा टोल विकास संस्थाका प्रतिनिधि निश्चल खत्री तथा सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष विद्या देवानलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सहकार्यलाई थप सुदृढ बनाउनुका साथै चाडपर्वको खुसी तथा शुभकामना एकआपसमा साटासाट गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।