
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपास सञ्चालनमा रहेका २० वटा औषधि पसल सिलबन्दी गरिएको छ।
प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीबीच जिल्ला प्रशासनले औषधि पसलहरूको अनुगमनलाई निरन्तरता दिएको हो।
बिहीबारदेखि सुरु भएको अनुगमन शुक्रबार पनि इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले गरेको हो।
जिल्ला फार्मेसी सुपरभाईजर एलन खड्काका अनुसार अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी भेटिएपछि पसलहरू सिलबन्दी गरिएको हो।
उनका अनुसार व्यवसायी वा दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेको, व्यवसाय नवीकरण नगरेको,अनुगमन टोली पुगेपछि केही पसलका सञ्चालकले सटर बन्द गरी सम्पर्कविहीन भएको तथा अनुगमनमा असहयोग गरेको पाइएको छ। साथै, बिना दर्ता सञ्चालनमा रहेका केही औषधि पसल अनुगमनका क्रममा सटर बन्द अवस्थामा भेटिएका थिए।
संयुक्त टोलीले बिहीबार र शुक्रबार गरी करिब ३० देखि ४० वटा औषधि पसलमा अनुगमन गरेको थियो। तीमध्ये बिहीबार ८ वटा र शुक्रबार १२ वटा गरी कुल २० वटा पसल सिलबन्दी गरिएको भण्डारीले जानकारी दिए।
सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक व्यवसायिक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
अनुगमनका क्रममा बोर्डमा होटल लेखिएको भए पनि भित्र औषधि पसल सञ्चालन भइरहेको समेत भेटिएको थियो। साथै, प्रतिबन्धित तथा लागूऔषधिको सूचीमा रहेको ‘नोरफिन’ नामक औषधि पनि बरामद भएको जनाइएको छ।
यस्तै, चौधरी होटल क्षेत्रमा रहेको एक स्थानबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ओपीडी कार्डहरू ठूलो परिमाणमा बरामद गरिएको छ। बरामद गरिएका कार्डहरू इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


