
धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएर पार्टी प्रवेश गराएको तर पछि उक्त प्रतिबद्धता तोडेको आरोप लगाउँदै निनाचन्द्र राईसहित १०२ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलनमार्फत राईले आफूहरूमाथि राजनीतिक रूपमा धोका भएको महसुस भएपछि पार्टी छाड्ने निर्णय गरेको हो ।
उनले पार्टी नेतृत्वले आफूहरूसँग भएको सहमति र प्रतिबद्धताविपरीत निर्णय गरेको दाबी गर्दै नैतिक रूपमा पार्टीमा बसिरहन नसक्ने अवस्था सिर्जना भएको बताए।
राईले भने“पार्टी नेतृत्वमा रहेका साम्पाङले हामीलाई धोका दिएको महसुस गरेका छौँ। त्यसैले सामूहिक रूपमा पार्टी परित्याग गरेका हौँ ।”
निनाचन्द्रले अध्यक्ष साम्पाङले पटक–पटक फोन सम्पर्क तथा प्रत्यक्ष भेटघाटमार्फत पार्टी प्रवेश गर्न र आगामी स्थानीय तह निर्वाचनमा मेयर पदका लागि पार्टीको उम्मेदवार बन्न आग्रह गरेका थिए। सोही आधारमा पार्टी र आफ्नो समूहबीच विभिन्न चरणमा छलफल र सहमति भएको उनको दाबी छ।
राईले भने, “अध्यक्ष स्वयंले नगर प्रमुखको उम्मेदवार बन्न आग्रह गर्दै प्रतिबद्धता जनाएपछि म लगायत हाम्रो समूहका सदस्यहरू पार्टीमा आबद्ध भएका थियौँ। तर केही दिनअघि पार्टी नेतृत्वले हामीसँग भएको सहमतिविपरीत निर्णय गरेपछि पार्टीभित्र बसिरहनुको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका हौँ।”
उनले आफू व्यक्तिगत स्वार्थका लागि राजनीतिमा नआएको उल्लेख गर्दै सामाजिक तथा राजनीतिक परिवर्तनको उद्देश्यका साथ अभियानमा लागेको बताए। आगामी निर्वाचनमा आफूहरू स्वतन्त्र रूपमा सहभागी हुने र धरानका २० वटै वडामा उम्मेदवार उठाउने तयारी रहेको पनि उनले जानकारी दिए।
“मलाई साम्पाङले चार–पाँच दिन लगाएर केटाकेटीलाई ललिपप देखाएझैँ फकाएर पार्टी प्रवेश गराएका हुन्,” राईले आरोप लगाए।
राईका अनुसार छलफलका क्रममा नेकपा एमालेबाट निर्वाचित धरान–४ का वडा अध्यक्ष धनबहादुर राईले समेत आफ्नो पार्टी र पद त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। तर धनबहादुरलाई नगर प्रमुखको उम्मेदवार बनाउने विषयमा कुनै छलफल वा प्रतिबद्धता नभएको कुरा पछि पार्टी अध्यक्षले बताएको उनले दाबी गरे।
राईसहितको समूह गत वैशाख १५ गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेको थिए।
निनाचन्द्र राई र हर्क साम्पाङबीचको राजनीतिक सहकार्य मदन भण्डारी राजमार्ग अन्तर्गत धनकुटे रोड विस्तारविरुद्धको आन्दोलनबाट सुरु भएको थियो।
सडक विस्तारका कारण दुवैको घर तथा संरचना प्रभावित हुने भएपछि उनीहरूले धनकुटे रोड संघर्ष समिति गठन गरी संयुक्त आन्दोलन चलाएका थिए। पछि निनाचन्द्रले साम्पाङलाई धरानको मेयर बनाउन सक्रिय भूमिका खेलेका थिए।
धनकुटे रोड बाइपास भएपछि दुवैबीचको राजनीतिक सहकार्य थप बलियो बनेको थियो। अहिले भने मेयर उम्मेदवारको विषयलाई लिएर उनीहरूबीच राजनीतिक दूरी बढेको छ ।


