अन्तर्राष्ट्रिय समाचार

हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक


हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ।
लाइक एन इन्नोभोटर पाठ्यक्रम अध्ययनका क्रममा अवधारणा परिष्कृत गरिएको यो एप सन् २०१४ मा डिके दाहालद्वारा नेपाली समुदायका लागि भाइवर र फेसवुकमा सुरु गरिएको निर्माण समूहको आधुनिक डिजिटल संस्करण हो।

एप सार्वजनिक गर्दै जव लिंक कनेक्ट का संस्थापक डिके दाहालले हङकङमा नेपाली समुदाय रोजगारीको गम्भीर संकटबाट गुज्रिरहेको बताए।
उनले भने, “आज हङकङमा धेरै नेपालीहरू कामको अभावका कारण बेरोजगार छन्। जव लिंक कनेक्ट हाम्रो समुदायलाई आत्मनिर्भर बनाउने सानो तर प्रभावकारी प्रयास हो, जहाँ काम खोज्ने र काम दिने दुवैलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्न खोजिएको छ।”

उनका अनुसार जव लिंक कनेक्ट विशेषगरी ब्लु–कलर कामदारहरूलाई लक्षित गरी डिजाइन गरिएको मोबाइल–मैत्री एप हो, जसले कामदारहरूलाई आफ्नो सिप र अनुभवका आधारमा घरमै बसेर रोजगारी खोज्ने अवसर प्रदान गर्दछ भने रोजगारदाताहरूलाई पनि आवश्यक जनशक्ति छिटो र सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउँछ।

“यो एप कुनै एजेन्सी होइन, बरु समुदायमै आधारित डिजिटल पुल हो,” दाहालले थपे, “हामीले हङकङबाट सुरु गरेका छौँ, अब छिट्टै नेपालसहित अन्य देशहरूमा पनि यसको सेवा विस्तार गर्ने योजना बनाएका छौँ।”

निर्माण, खाद्य तथा पेय पदार्थ घरेलु सहयोगी, सुरक्षा गार्ड तथा अंगरक्षक, चालक, उत्पादन तथा निर्माण उद्योग, यातायात तथा ढुवानी, मर्मतसम्भार, मर्मत तथा स्थापना सेवा, स्वास्थ्य सेवा सहयोगलगायत विभिन्न क्षेत्रका रोजगारी अवसरहरू जव लिंक कनेक्ट मार्फत उपलब्ध हुने जनाइएको छ।

हाल हङकङमा रोजगारीको हाहाकार बढिरहेको अवस्थामा जव लिंक कनेक्टले नेपाली समुदायभित्र कामदार र रोजगारदाताबीच विश्वासिलो डिजिटल माध्यमको भूमिका खेल्ने अपेक्षा गरिएको छ। दाहालले हङकङस्थित सम्पूर्ण नेपाली समुदायलाई यस एपको प्रचार–प्रसारमा साथ दिन पनि आग्रह गरेका छन्।

नेपाली समुदायलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको जव लिंक कनेक्टले हङकङमा मात्र नभई विश्वभरका नेपालीहरूका लागि रोजगारी खोज्ने तरिका नै परिवर्तन गर्ने विश्वास गरिएको छ।