
धरान: सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
शुक्रबार धरानमा आयोजित भेलाबाट पार्टी केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईलगायत सदस्य रहेका छन्। साथै सुनसरी–१ अन्तर्गतका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरूको व्यापक सहभागिता रहेको छ।
निर्वाचन परिचालन समितिअन्तर्गत २९ वटा उपसमिति पनि गठन गरिएको छ। उपसमितिहरूमा आर्थिक समिति संयोजक उद्धव लिम्बु, प्रचार–प्रसार समिति संयोजक चोत्लुङ, युवा परिचालन समिति संयोजक चिन्तन भुजेल, महिला परिचालन समिति संयोजक उमिता बराईली, अनुगमन समिति संयोजक मुक्साहाङ मेन्याङवो तथा विद्यार्थी तथा नव–युवा परिचालन समिति संयोजक युवराज अलौकिक रहेका छन्।
नेकपा धरान नगर कमिटी संयोजक उद्धव लिम्बुले समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज)लाई विजयी गराउने उद्देश्यका साथ समिति निर्माण गरिएको बताए।
उनका अनुसार निर्वाचन परिचालन समिति घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा संगठन विस्तारमा केन्द्रित रहनेछ।
नेकपाले सुनसरी–१ मा संगठन सुदृढ गर्दै चुनावी प्रतिस्पर्धालाई प्रभावकारी बनाउने रणनीतिसहित परिचालन समिति पूर्ण रूपमा सक्रिय बनाउने जनाएको छ।

