Uncategorized स्वास्थ्य/जिवनशैली

बीपीको फार्मेसी घोटाला प्रकरण: चार महिनापछि शिल खुलेर पुन, सञ्चालनको तयारी


धरान: करिब चार महिनाअघि करोडौँ रुपैयाँको औषधि घोटालाको आशंकामा शिल गरिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी पुनः सञ्चालन हुने भएको छ । औषधि तथा सामग्रीको भौतिक भेरिफिकेशन र छानबिन कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पाख्रेलको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले फार्मेसीमा रहेका सम्पूर्ण औषधि, सामग्री र रेकर्डको विस्तृत परीक्षण गरिरहेको छ । औषधि खरिदमा ठूलो अनियमितता, बिक्री रकम हिनामिना र म्याद गुज्रिएका औषधिहरू समेत स्टोरमा भेटिएपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठको निर्देशनमा छानबिन समिति गठन गरिएको हो ।
स्रोतका अनुसार औषधि खरिद र वितरणको सम्पूर्ण अधिकार अस्पताल निर्देशक डा. जगत नारायणसँग थियो । तर, घोटालाको आशंका बढेपछि उनलाई सो अधिकारबाट वञ्चित गरिएको छ । प्रारम्भिक अनुसन्धानले अस्पताल निर्देशक डा. जगत नारायण, फार्मेसी प्रमुख लक्ष्मण महर्जन, डेपुटी डाइरेक्टर लोकेश जैसवाल र फार्मेसी सहायक विवेक दाहालबीच मिलेमतो रहेर अनियमितता गरिएको संकेत देखाएको छ ।
उपकुलपति प्रा.डा. श्रेष्ठका अनुसार समितिले छानबिनसँगै औषधि गन्ने काम पनि अघि बढाइरहेको छ । “सबैभन्दा पहिले स्टक मिल्न जरुरी छ,” उहाँले भन्नुभयो, “फार्मेसीमा सबै कुरा अस्तव्यस्त थियो, त्यसैले त्यतिबेलै शिल गर्नुपर्ने थियो । त्यो नगर्दा गल्ती भयो ।” उहाँका अनुसार गन्ने र परीक्षणको काम एकैसाथ भइरहेकाले फार्मेसी सञ्चालनमा अब झण्डै एक हप्ता मात्र लाग्ने अनुमान गरिएको छ ।
फार्मेसीको जिम्मा हाल डा. इन्द्र लिम्बुलाई दिइएको छ । “डा. जगत नारायणलाई अब कुनै अधिकार छैन,” श्रेष्ठले स्पष्ट पार्नुभयो । प्रतिष्ठानले यसका लागि हाल सात जना नयाँ कर्मचारी नियुक्त गरेको छ । “दश जना आवश्यक भए पनि अहिले सात जनाले काम गरिरहेका छन् । बाँकी तीन जनालाई छिट्टै थपिनेछ,” उहाँले जानकारी दिनुभयो ।

विपि प्रतिष्ठान धरानमा पहिले आफ्नै कर्मचारीमार्फत फार्मेसी सञ्चालन गर्नुपर्नेमा केटिएम सेक्युरिटी सर्भिसेज प्रालिलाई ठेक्कामा दिएको थियो । उपकुलपति श्रेष्ठका अनुसार यही निर्णयले फार्मेसीमा अनियमितताको ढोका खोलेको हो । “अनियमितता सार्वजनिक भएपछि केटिएम सेक्युरिटीलाई बारम्बार भौतिक परीक्षणका लागि बोलाउँदा पनि उनीहरूले प्रतिनिधि पठाएनन् । अहिले देखिएको प्रतिष्ठानका पदाधिकारी र उक्त कम्पनीबीचको मिलेमतोको परिणाम हो,” उहाँले आरोप लगाउनुभयो ।
छानबिन समितिको प्रतिवेदन नआएसम्म फार्मेसीमा कार्यरत पुराना कर्मचारीलाई पुनः संलग्न नगरिने निर्णय गरिएको छ । “यदि उनीहरू निर्दोष ठहरिए भने पुनः लिइनेछ,” श्रेष्ठले बताउनुभयो । अहिलेका कर्मचारीहरूलाई तीन महिनाका लागि मात्रै करारमा राखिएको छ ।
प्रारम्भिक भौतिक परीक्षणमै धेरै कुरा नमिलेपछि फार्मेसी शिल गरिएको थियो । श्रेष्ठका अनुसार शिल गर्न ढिलाइ हुँदा औषधि भित्रबाहिरको चलखेल भइरहेको देखियो । “त्यसपछि मात्रै ठूलो घोटाला रहेछ भन्ने स्पष्ट भयो,” उहाँले भन्नुभयो ।
हाल छानबिन समितिले अन्तिम प्रतिवेदन तयारी गरिरहेको छ । उक्त प्रतिवेदन सार्वजनिक भएपछि दोषीहरूमाथि आवश्यक कारबाही सुरु गरिने प्रतिष्ठानले जनाएको छ । चार महिनादेखि बन्द रहेको फार्मेसी अब सबै भेरिफिकेशन प्रक्रिया पूरा भएपछि पुनः सञ्चालनमा आउने तयारीमा छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका