
धरान: जेन–जीको आन्दोलन निष्कर्षमा पुगेपनि अहिले मुलुक पूर्ण रुपमा तंग्रिन सकेको छैन । उद्योग व्यापार, व्यवसाय, सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चल्न सकेका छैनन् । जसको प्रभाव हरेक क्षेत्रमा परेको छ । बजार, उद्योग, सार्वजनिक सेवा र चाडपर्वको चहलपहल छैन सुनसान छ ।
सोमबारबाट शुरु गरिएको जेन–जीको आन्दोलनले मंगलबार नै सफलता पायो । भ्रष्टाचार, व्यथिति र स्थिर सरकारको मुद्धा लिएर आन्दोलन छेडेका जेन–जीको आन्दोलनले ठूलो मानवीय तथा भौतिक क्षति देशले भोग्नुपर्यो । राष्ट्रिय सम्पत्ति, व्यक्तिगत सम्पत्ति क्षतिसँगै ५१ जनाले ज्यान गुमाए । यसैको प्रभावका कारण नेपालीहरुको महान चाड दशै भित्रिइसक्दा बजारमा चहलपहल हुने समयमा अहिले हरेक क्षेत्र सुनसान छन्।
दशै भित्रिएपछि धरानका विजयपुरमा रहेका मठ मन्दिरमा चहलपहल बढ्थ्यो । तर सोहश्राद्धको चौथो दिन वितिसक्दा पनि मन्दिरहरु सुनसान छ्न् । धरान १४ मा रहेको भक्तजनरुको मुख्य आस्थाको केन्द्रविन्दु पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर लगायतका अन्य मन्दिर सुनसान छन् । १६ श्राद्ध सँगै देशमा भएको दण्डको प्रभाव मन्दिरमा समेत परेको पुजारी तथा मन्दिर व्यवस्थापन समितका पदाधिकारीहरु बताउँछन् । चाडपर्वको समयमा व्यापार व्यवसाय बढ्ने बेलामा व्यापार चलेको छैन । मन्दिर अगाडि फूलमाला विक्री गरेर गुजारा गर्नेहरुको दिनचर्या अहिले कठिन बन्दै गएको छ ।
मन्दिरमात्र हैन बजारका पसलहरु बन्द छन्, यातायात चलेका छैनन् । आन्दोलनका क्रममा ध्वस्त भएका व्यवसायिक भवनमा कार्यरत कर्मचारीहरु दशैको मुखमा विचल्ली भएको छ । धरान १० मा रहेको भाटभाटेनीमा मंगलबार बेलुका लागेको आगो शुक्रबार मात्र नियन्त्रणमा आएको छ । बचेखुचेका सामाग्रीहरु कर्मचारीहरुले धमाधम निकाल्ने काम गरेका छन् । दशैमा बोनस पाइने र दशै रमाइलो मनाउने सपना कर्मचारीहरुको तुहिएको छ । यसले समग्र व्यपार व्यवसाय नै चौपट भएको स्वयम् युवाहरु नै बताउँछन् ।

अब नेपालमा व्यवसाय गर्ने वातावरण नै नभएको समेत युवाहरुको भनाई थियो । आन्दोलनका क्रममा पार्टी कार्यालय, सार्वजनिक सम्पत्ति मात्र हैन व्यक्तिका सम्पत्ति समेत धेरै नष्ट भए । यसले गर्दा यस बर्षको दशै नेपालीका लागि खल्लो महसुस भएको छन् । कलिला बालबालिकाको मृत्यु, भौतिक संरचना नष्टका कारण एउटा क्षेत्रमात्र हैन समग्र क्षेत्र नै थिलथिलो भएका कारण विगतकै जस्तो अवस्थामा फर्कन समय लाग्ने देखिएको छ । यो आन्दोलनका कारण उद्योगी, व्यापारी व्यवसायी, नीजि व्यवसायिक फर्ममा काम गर्ने कर्मचारी सबैलाई समस्यामा पारेको छ । राज्यले ठूलो क्षति व्यहोर्नुपरेको छ ।