
काठमाण्डौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसाबले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका सर्वदलिय टोलीसंगको साक्षात्कारमा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले वीपीलाई छाता ऐनमा लानु उपयुक्त नहुने बताउनुभयो ।
बिहिबार अपरान्ह कोटेश्वरस्थित माओवादी मुख्यालयमा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले भन्नु भयो तपाईँहरु बल्लसंयुक्त रुपमा समेटिएर आउनुभयो यसले मलाई अत्यन्त खुशी तुल्याएको छ । भेटका क्रममा प्रचण्डले म प्रधानमन्त्री रहेकैबेलामा विभिन्न प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा ल्याउने प्रसंग उठेको थियो मैले नै वीपीको विषयमा यसो गर्नु हुँदैन भनेको हुँ भन्नुभएको टोलीमा सहभागी नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले जानकारी गराउनुभयो ।
सर्वपक्षिय टोलीमा नेपाली काङ्ग्रेस धरान सभापति श्याम पोखरेल, माओवदी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू र जनता समाजवादी पार्टी नेपाल धरान अध्यक्ष ताजुव लिम्बू रहनु भएको थियो ।
त्यसैगरी नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई, धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) र धरान सरोकार समाजका महासचिव राजेन्द्र रिमाल लगायतको सहभागीता थियो ।
भेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” अन्तर्गत अन्य विभिन्न प्रतिष्ठानसंगै छाता ऐनमा लाने सरकारको तयारीप्रति धराने जनताको असहमति रहेको र एमबीबीएस, बीडीएस, एमएस, डीएम, एमएच लगायत दर्जनौँ कार्यक्रम सञ्चालन गर्दै आएको वीपी प्रतिष्ठान स्वास्थ्य र शिक्षा आधारित नेपालको पहिलो प्रतिष्ठान रहेकाले प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको सामान्य इकाईका रुपमा राखिनु उपयुक्त नहुने सुझाएका थिए ।
२०८० साल चैत ३० गते सम्पन्न वीपी प्रतिष्ठानको ४५ औँ सिनेट बैठकले वीपी कोइराला चिकित्सा विज्ञान विश्वविद्यालय मस्यौदा ऐन पारित गरिसकेकाले सिनेटको उक्त निर्णय कार्यान्वयन प्रकृया अघि बढाउन सहयोगकालागि धराने जनताको तर्फबाट अनुरोध गरेका थिए ।
वीपी प्रतिष्ठानलाई छाता ऐनमा लैजान गरेको गम्भिर त्रुटीलाई सच्याउदै विपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन आवश्यक सहयोग गरिदिन टोलीले गरेको आग्रहमा प्रचण्डले भन्नुभयो म त सँधै तपाईँहरुकै भावना अनुरुप काम गरिरहेको छु सत्तामा रहनुहुने एमाले कांग्रेसलाई भन्नुस म पनि भन्छु भन्नु भएको टोलीमा सहभागी मनोज भट्टराईले जानकारी गराउनु भयो ।
ध्यानाकर्षण पत्रमा काग्रेसका तर्फबाट श्याम पोखरेल, एमालेका तर्फबाट हर्कजंग एभेङ, माओवादी केन्द्रको तर्फबाट उद्धव लिम्बू र जसपा नेपालको तर्फबाट ताजुव लिम्बूले हस्ताक्षर गर्नुभएको छ ।