धरान: कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औ राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप ( प्रदिप ढुङगाना) प्रथम हुनुभएको छ । युवा कवि विबेक विवश रेग्मी युवा प्रतिमाबाट पुरस्कृत भएका छन।
शनिबार धरान-१८ कवि विमल गुरुङको पुस्तकालयमा उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोवास गर्ने शान्ति लिम्बुको “थेम्स नदिको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता वाचन गर्नुभई तेस्रो हुनुभएको छ ।
उहाँहरुलाई क्रमशः नगद २१ हजार, १८ हजार , १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रमुख अतिथि नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.भिम खतिवडा, कार्यक्रमका सभापति तथा पुस्तकालय सञ्चालक समिति अध्यक्ष पूणर्बहादुर गुरुङ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरुबाट प्राप्त भएका ८१ कविताहरु मध्ये १० कविता छनौट गरिएको छ । छनौटमा परेका मध्ये उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्रदान गरिएको थियो ।
८१ कविताहरु प्राप्त भएकोमा उत्कृष्ट १० कविताहरुलाई अन्तिम प्रतिस्पर्धाको लागी सिफारिस गरिएको थियो । प्रतियोगितामा अन्जान प्रदीपको सपना, शान्ति लिम्बुको थेम्स नदिको किनारै किनार, समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता वाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।
यसैगरी कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको कवि विमल कृति पुरस्कार कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई पुरस्कार प्रदान गरिएको छ । उहाँलाई नगद राशि २ लाख रुपैंया, ताम्र पत्र सहित दोसल्ला ओढाई प्रमुख अतिथि प्रा.डा.खतिवडाले सम्मान गर्नुभएको थियो ।
विमल कृति पुरस्कारको लागी स्वदेश तथा विदेशबाट नेपालि भाषी लेखक साहित्यकार सर्जकहरुबाट लेखिएका १ सय १ वटा विभिन्न विधाका कृतिहरु प्राप्त भएको पुस्तकालयको अध्यक्ष गुरुङले बताउनुभयो ।
त्यसैगरी सुनसरीको तरहरा निवासी युवा कवि विबेक विवश रेग्मीलाई नगद १० हजार सहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृति लोकार्पण गरिएको छ ।
कार्यक्रममा कवि बम देवान लेेखक टि.बी.चन्द्र सुब्बा, कवि बिशाल नाल्बो, पुस्तकालयको सचिव भिम चाम्लिङ लगायत कविहरुको उपस्थिति रहेको थियो ।