समाज

धरानमा याक्थुङ सभ्यताको ऐतिहासिक धरोहर ‘सावा येत्थाङ पाङभे’

धरान ः याक्थुङ ९लिम्बू० समुदायको पुर्ख्यौली इतिहास, मुन्दुमी सभ्यता र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धरानमा ‘सावायेत्थाङ पाङबे’ तथा याक्थुङ सांस्कृतिक संग्रहालय निर्माण गरिएको छ।

धरान उपमहानगरपालिका–५ स्थित कागुनेमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको उक्त परिसरलाई याक्थुङ समुदायको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान झल्काउने स्थलका रूपमा विकास गर्न लागिएको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युमा साम्यो महासंघ नेपालका केन्द्रीय अध्यक्ष डाक्टर रमेश ईजमले आगामी मङ्सिर १ गते सावायेत्थाङ पाङबे तथा याक्थुङ सांस्कृतिक संग्रहालयको उद्घाटन गरिने जानकारी दिए। सोही अवसरमा परिसरमा चासोक तङ्नामसमेत भव्य रूपमा मनाउने तयारी गरिएको उनले बताए।
अध्यक्ष ईजमका अनुसार परियोजनाअन्तर्गत ‘याक्थुङ मुन्दुम् हिमु’ र ‘याक्थुङ साक्ष्थिम् हिम’ गरी दुईवटा मुख्य भवन निर्माण गरिएका छन्। यी भवन निर्माणमा करिब २ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए।
दुवै भवनको विशेषता परम्परागत वास्तुकला र मौलिक निर्माण सामग्रीको प्रयोग हो। भवन निर्माणमा आधुनिक कङ्क्रिट प्रविधि, आरसिसी तथा फलामे रड प्रयोग नगरी ढुङ्गा, माटो र काठजस्ता परम्परागत सामग्री प्रयोग गरिएको अध्यक्ष ईजमले बताए।
उनका अनुसार ‘याक्थुङ मुन्दुम् हिमु’ मा मुन्दुमसँग सम्बन्धित सामग्री तथा पुर्खाहरूले प्रयोग गर्दै आएका परम्परागत वस्तुहरू संग्रह गरिनेछ भने ‘याक्थुङ साक्ष्थिम् हिम’ लाई सांस्कृतिक भवनका रूपमा विकास गरिनेछ।
परिसरमा थप आठवटा ‘यात्थाङ हिम’ निर्माण गर्ने योजना रहेको छ। मुन्दुमी आख्यानअनुसार याक्थुङ समुदायका आठजना पुर्खाबाट समुदायको विस्तार भएको मान्यतालाई प्रतिबिम्बित गर्न आठवटा संरचना निर्माण गर्न लागिएको अध्यक्ष ईजमले बताए। ती संरचनामा पनि आधुनिक कङ्क्रिट सामग्री प्रयोग नगरी परम्परागत निर्माण शैली अपनाइनेछ।
मुन्दुमी आख्यान र ऐतिहासिक वर्णनमा सावायेत्थाङ याक्थुङ पाङबे महत्वपूर्ण ऐतिहासिक भूमि मानिन्छ। सोही भूमिको प्रतीकात्मक प्रतिकृतिका रूपमा धरान–५ कागुनेमा संरचना निर्माण गरिएको अध्यक्ष ईजमको भनाइ छ।
‘पुर्खाहरूले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सामग्री, परम्परा, जीवनशैली र मुन्दुमी ज्ञानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने।
परियोजनाका लागि संघीय सरकारले पटक–पटक गरी ९० लाख रुपैयाँ र कोशी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ। याक्थुङ समुदायका सदस्यहरूबाट समेत आर्थिक सहयोग जुटाइएको अध्यक्ष ईजमले बताए।
त्यस्तै, देश तथा विदेशमा रहेका याक्थुङ समुदायको सहयोगमा करिब डेढ करोड रुपैयाँ खर्च गरेर जग्गा खरिद गरिएको उनले जानकारी दिए। नयाँ ‘यात्थाङ हिम’ निर्माणका लागि धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको र सोही दिन मङ्सिर १ गते नयाँ संरचनाको शिलान्याससमेत गरिने उनले बताए।
यसैबीच,आगामी मङ्सिर १ गते परिसरमा चासोक तङ्नाम मनाउने तयारी गरिएको छ। अध्यक्ष ईजमका अनुसार याक्थुङ समुदायले सामूहिक निर्णयअनुसार सूर्य पात्रोमा आधारित मङ्सिर १ गतेलाई चासोक तङ्नामका रूपमा मनाउँदै आएको छ।
उनले याक्थुङ समुदायको परम्परामा चन्द्र पात्रोभन्दा सूर्य पात्रोमा आधारित पात्रोको अभ्यास रहेको बताए। मुन्दुमी मान्यतामा आठ दिनको अवधारणासमेत उल्लेख भएकाले परम्परागत पात्रो र मुन्दुमी मान्यतासँग जोडेर मङ्सिर १ गतेलाई चासोक तङ्नामका रूपमा मनाउने गरिएको उनको भनाइ छ।
चासोक तङ्नामका अवसरमा थिसोक, टकसोक र खाजुङलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ।
संग्रहालय निर्माणसँगै याक्थुङ समुदायको पुर्ख्यौली इतिहास, मुन्दुमी ज्ञान, मौलिक संस्कृति र परम्पराको संरक्षण हुनुका साथै धरानको सांस्कृतिक तथा पर्यटकीय पहिचान थप स्थापित हुने अपेक्षा गरिएको छ।सावायेत्थाङ पाङबे र याक्थुङ सांस्कृतिक संग्रहालयको परिकल्पनाकार युमा साम्यो नेपाल रहेको छ भने हालका निर्माण समिती संयोजक भिम केदेम रहेका छन ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले