
धरान: जनता समाजवादी पार्टीले सुनसरी क्षेत्र १ का उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई जिताउनका लागि विकास, पहिचान र समृद्धिमा केन्द्रित २६ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक घोषणापत्रमा औद्योगिक विकास, सुरुङ मार्ग, व्यापारिक पूर्वाधार, खेलकुद पर्यटन, श्रम बैंक, विपद् व्यवस्थापन बैंक र सामाजिक सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सारिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै २०७९ को निर्वाचनमा सुनसरी–१ बाट विजयी बनेका अशोक राईले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि आफूले खानेपानी मन्त्रालय रोजेको बताए।”धरानलाई पानी खुवाउने उद्देश्यकै लागि मन्त्रालय लिएको उनको भनाइ थियो। तर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले उक्त प्रस्तावमा सहमति नजनाएको उल्लेख गरिएको छ।
अशोक राईले धरान–लेउती सुरुङ मार्ग योजनाको औचित्य स्पष्ट पार्दै यसले लागत घटाउने, भेडेटार र लेउती खोलाबीच बारम्बार पहिरो जाने जोखिमयुक्त क्षेत्रबाट सुरक्षित यात्रा सुनिश्चित गर्ने बताए। उनका अनुसार हाल धरानबाट भेडेटारसम्म ३० देखि ४५ मिनेट लाग्ने यात्रा सुरुङमार्ग सञ्चालनपछि करिब ५ मिनेटमै पूरा गर्न सकिनेछ। नाजुक पहाडी भूभागमा सतही सडकको तुलनामा सुरुङ मार्ग भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपप्रति बढी सुरक्षित र स्थिर संरचना हुने दाबी गरिएको छ। यस परियोजनामार्फत धरानलाई क्षेत्रीय पर्यटन केन्द्र र पूर्वी पहाडी क्षेत्रको जीवनरेखाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
खानेपानी समस्यासम्बन्धी प्राविधिक अध्ययन अनुसार सुरुङमार्ग वा कोशीबाट सिधै पानी ल्याउने योजना अत्यन्त खर्चिलो देखिएको छ। हालको उपयुक्त विकल्पका रूपमा सप्तकोशी नदी बाट बोरिङ गरी पानी निकाल्ने, लिफ्टमार्फत सूर्यकुण्ड पुर्याई गुरुत्वाकर्षण प्रणाली प्रयोग गरेर विजयपुर र धरान क्षेत्रमा वितरण गर्ने योजना अघि सारिएको छ। यसबाट धरान–२० विष्णुपादुका लगायतका सुक्खा क्षेत्रहरूमा समेत पानीको सहज पहुँच हुने दाबी गरिएको छ।
स्थानीय पानी आपूर्ति तथा लेउती खोला वा तमोर नदीको उपयोगसम्बन्धी सम्भावनामा समेत जटिलता रहेको जनाइएको छ। इन्जिनियरहरूसँगको परामर्शपछि केही स्रोतबाट हाल ट्यापिङ सम्भव नभएको निष्कर्ष निकालिएको छ। विष्णुपादुका जस्ता क्षेत्रबाट पानी निकाल्ने विगतका प्रयासले प्रशासन र प्रहरी हस्तक्षेपसम्मको विवाद सिर्जना गरेको उदाहरण पनि प्रस्तुत गरिएको छ।
चारकोसे झाडी क्षेत्रमा डिप बोरिङको विकल्प प्रस्ताव भए पनि सर्वेक्षणले पर्याप्त पानी नदेखाएपछि सप्तकोशी नै दीर्घकालीन र दिगो समाधान भएको निष्कर्ष निकालिएको छ। नगरपालिकाले ऋण लिन अस्वीकार गरेपछि प्रदेश सरकारले आयोजनामा प्रतिबद्धता जनाएको र योजना आगामी ३०–५० वर्षसम्मको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको जनाइएको छ।
घोषणापत्रमा धरान–लेउती सुरुङ मार्ग सम्पन्न गर्ने, धरानलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, प्रस्तावित औद्योगिक क्षेत्र सञ्चालन गरी व्यवसायीमैत्री लगानी वातावरण बनाउने, गोर्खा लाहुरेहरूको सीप र आम्दानीलाई लगानीमा रूपान्तरण गर्ने तथा खेलकुद पर्यटन हब निर्माण गर्ने लक्ष्य लिइएको छ।
यसैगरी आधुनिक रंगशाला, कभर्ड हल, संगीत विश्वविद्यालय स्थापना, धरान–१६ स्थित रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा रूपान्तरण, श्रम बैंक तथा विपद् व्यवस्थापन बैंक स्थापना, सेउती करिडोर निर्माण, सेउती–कोकाहा–सुपारे खोलामा पक्की पुल निर्माण, वन–सिमसार तथा सूक्ष्म जलाधार संरक्षण, स्वास्थ्य–शिक्षा बीमा योजना र विपन्न वर्गका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।
पार्टीको चुनावी नारा “सबैलाई पहिचान, सबैलाई सम्मान – मुलुकको समुन्नति हाम्रो अभियान” रहेको छ। चुनाव चिन्ह ‘जाँतो’ मा मतदान गर्न जसपाले मतदातालाई आग्रह गरेको छ।


