
धरान: उज्यालो नेपाल पार्टी बाट सुनसरी क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जेन्टल लावती (डम्बर) को स्थानीय चुनावी प्रतिबद्धताका १७ सूत्रीय बुँदा सार्वजनिक गरिएको छ। धरानमा डोमेस्टिक एयरपोर्ट निर्माणको ठोस पहल लाई प्रमुख एजेन्डा बनाउँदै ‘धरान–तमोर सुरुङमार्ग’ सहित धरानको समग्र विकास र समृद्धिका बहुआयामिक योजना सार्वजनिक गरिएको हो।
प्रतिबद्धतापत्रमा धरानलाई पहाडी जिल्लाहरूका लागि सबैभन्दा छोटो सडक सञ्जालमार्फत तराईसँग जोड्ने केन्द्रका रूपमा विकास गर्न बहुउपयोगी सुरुङमार्ग अपरिहार्य भएको उल्लेख गरिएको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय” नारासहित चुनावी मैदानमा उत्रिएका लावतीले धरानको दीर्घकालीन विकासका लागि यातायात, पूर्वाधार, पर्यटन र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै एयरपोर्ट निर्माणलाई रणनीतिक परियोजना का रूपमा प्रस्तुत गरेका छन्।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी का तर्फबाट संयुक्त उम्मेदवार बनेका लावतीले धरानको भौगोलिक अवस्थिति, व्यापारिक सम्भावना, शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार र पर्यटन विकासलाई नयाँ उचाइमा पुर्याउन डोमेस्टिक एयरपोर्ट अब अनिवार्य आवश्यकता भइसकेको बताए।
उनका अनुसार एयरपोर्ट निर्माणले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण, रोजगारी सिर्जना र क्षेत्रीय व्यापार विस्तारमा प्रत्यक्ष प्रभाव पार्नेछ।
धरान लाई स्मार्ट, समृद्ध र व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढेका लावतीले एयरपोर्टसँगै यातायात सञ्जाल, करिडोर विकास, शिक्षा–स्वास्थ्य पूर्वाधार, पर्यटन संरचना र रोजगार सिर्जनालाई एकीकृत रूपमा अघि बढाइने प्रतिवद्धता जनाएका छन्। उनका अनुसार धरानमा डोमेस्टिक एयरपोर्ट निर्माण केवल पूर्वाधार परियोजना मात्र नभई सुनसरी–१ को समग्र आर्थिक रूपान्तरणको आधारशिला बन्ने दीर्घकालीन भिजन हो।
यसअघि पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती ले धरानमा एयरपोर्ट बन्न नसक्ने अभिव्यक्ति दिएका थिए भने उज्यालो पार्टीले धरानमा एयरपोर्ट बन्ने एजेन्डा अघि सारेको छ । पुराना राजनीतिक दलहरूले एयरपोर्टलाई चुनावी एजेन्डा नबनाएको अवस्थामा लावतीले यसलाई औपचारिक प्रतिबद्धताका रूपमा अघि सारेका हुन्।
१७ बुँदे घोषणापत्रहरु ः
लावतीको घोषणापत्रमा दीगो खानेपानी समाधानका लागि लेउती–तमोर योजना र धरान–लेउती सुरुङमार्ग पहल, सर्दू जलधार, बजार क्षेत्रका रोक्का जग्गा, सुकुम्बासी र सहकारी समस्या समाधान, धरानलाई व्यापारिक स्मार्ट सहरको रूपमा विकास, घोपा क्याम्प अस्पताल स्तरोन्नति, धरानलाई शैक्षिक हब तथा पर्यटन–प्रविधि–खेलकुद केन्द्र बनाउने योजना समावेश छन्।
त्यसैगरी भाषा–संस्कृतिको विकास, प्रादेशिक थिएटर, बहुसांस्कृतिक पार्क, विजयपुर दरबार क्षेत्र संरक्षण तथा पुनर्निर्माण, रंगशाला स्तरोन्नति र स्थायी फ्लडलाइट, “एक घर एक युवा रोजगार” कार्यक्रम, भूतपूर्व सैनिक, ब्रिटिसरभारतीय गोर्खा तथा नेपाली सेनाका समस्या समाधान पहल, बराहक्षेत्र–रामधुनी क्षेत्रको सडक, पुल, शिक्षा–स्वास्थ्य विकास, विजयपुर–विष्णुपादुका–बराहक्षेत्र धार्मिक सर्किट, धरान रिङ रोड, नगर बस, व्यापारिक लोकमार्ग, कृषि एम्बुलेन्स, कोल्डस्टोर, बजार व्यवस्था, महिला हिंसा, मानसिक स्वास्थ्य, एलजीबीटीक्यु समुदायका लागि सेवा केन्द्र, लागूपदार्थमुक्त धरान, अन्तर्राष्ट्रियस्तरको पुनःस्थापना केन्द्र तथा हरित पार्कसहित वातावरणमैत्री सहर विकासका योजना समेटिएका छन्।
राष्ट्रिय तहमा पर्यटन प्रवर्द्धन, कृषि अनुसन्धान केन्द्र, ऊर्जा उत्पादन र निर्यात, युवा स्टार्टअप कोष, समावेशी समाजवादी अर्थतन्त्र, भ्रष्टाचार निर्मूलन, शिक्षा–स्वास्थ्य संरचनागत सुधार, संघीयताको प्रभावकारी कार्यान्वयन, सहकारी ऐन कार्यान्वयन र निर्वाचन क्षेत्र पुनःसंरचना लगायत विषयहरूलाई पार्टीको दीर्घकालीन एजेन्डा का रूपमा अघि सारिएको छ।

