
धरान: धरान –१२ स्थित धरान मेघा हिमालयन स्कुलले शुक्रबार विद्यालय परिसरमा २१औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बुले विद्यार्थीको शैक्षिक सफलतामा विद्यालयसँगै अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।
एन प्याब्सन धरानका अध्यक्ष लिम्बुले छोराछोरीको सङ्गत, नियमित अध्ययन, समयमै विद्यालय उपस्थिति र गृहकार्यप्रति अभिभावकले निगरानी राख्नुपर्नेमा जोड दिए।
विद्यालयका प्रिन्सिपल भाष्कर पौडेलले मेघा हिमालयन स्कुल अब धरानमा छुट्टै पहिचान बनाइसकेको स्थापित ‘ब्रान्ड’ भइसकेको उल्लेख गरे।
नर्सरीदेखि स्नातक तहसम्म एउटै छानोमुनि अध्यापन गराउँदै आएको संस्थाले प्लस टु तहसँगै विद्यालय तहको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्पूर्ण टिम प्रतिबद्ध भएर काम गरिरहेको उनको भनाइ थियो।
संचालक सदस्य राजेश बिद्रोहीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले विशेष प्राथमिकता दिएको बताए।
सोही अवसरमा खेलकुद सप्ताह तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई शैक्षिक निर्देशक अर्जुन घिमिरे, स्कुल इन्चार्ज नवराज दाहाल, कोअर्डिनेटर जीवन न्यौपाने तथा संचालक सदस्य चन्द्र वनेमल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, राइम र नाटक प्रस्तुत गर्दै अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए।
विद्यालय र अभिभावकबीच सहकार्यलाई अझ सुदृढ गर्दै विद्यार्थीको समग्र विकासमा केन्द्रित सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

