
धरान : हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमता भएको एक मात्र दल नेपाली कांग्रेस भएको दाबी गर्दै सिकारुलाई होइन, परिपक्व शक्तिलाई देश जिम्मा दिनु पर्ने नेपाली काँग्रेसका उपसभापती विश्वप्रकास शर्मा बताएका छन।
बिहीबार धरान आएका सुनसरी १ मा काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रहेका उपसभापति शर्माले, निर्वाचनको मैदानमा आधी–हुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको भन्दै पार्टी जनतालाई सचेत रहन आग्रह गरेको छ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्मा ले भने, “सिकारुलाई देश जिम्मा दिनु हुँदैन। राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हो। परिपक्व, अनुभवी र संकट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ।” उनले कांग्रेस इतिहासदेखि नै संकटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएको र यसपटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने स्पष्ट पारे।

महामन्त्री शर्माले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्ध द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको थियो । काग्रेसले “बन्दुकले बन्दुकको समाधान हुँदैन,” भन्ने भावले गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठूलो रक्तपातबाट जोगाएको उनले स्मरण गराए। उनले संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको उनको दाबी छ।
उनले कांग्रेसलाई ‘परिपक्व नाविक’ सँग तुलना गर्दै, देशमा संकट वा ‘आँधीहुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने बताए।
नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचनका लागि कांग्रेसले नयाँ र युवा उम्मेदवार, महिला र दलित प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको जानकारी दिँदै १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहार उम्मेदवार बनाएको बताए।
उनले निर्वाचनलाई ‘दुश्मनीको अखडा’ नभई ‘विचार र व्यक्तित्वको प्रतिस्पर्धा’ मान्नुपर्ने भन्दै स्वस्थ्य लोकतान्त्रिक संस्कार विकास गर्न सबै दल जिम्मेवार हुनुपर्ने धारणा राखे।
शर्माले सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङको समर्थन गर्दै उनलाई एक योग्य र इमानदार उम्मेदवार रहेको भन्दै अब धरानले भुलेर गल्ती गर्दै कांग्रेसको रुख चिन्हमा भोट लागाएर अनुभवी उम्मेदवार सुजेन्द्रलाई जिताउन आग्रह गरे । उनले सुजेन्द्र एक फौजी परिवारको छोरा र हङकङ तथा बेलायत जस्ता ठाउँमा जाने अवसर हुँदाहुँदै पनि आफ्नै माटोमा बसेर सेवा गर्न चाहने व्यक्तिको रूपमा उनले चित्रण गरे।
उनले हङकङ, बेलायत लगायतका देशमा रहेका धराने युवाहरूलाई स्मरण गर्दै उनीहरूले पठाएको ‘मन र धन’ को उच्च सम्मान गरे। विदेशमा रहेका युवाहरूलाई आफ्नो क्षेत्रको विकासका लागि सुजेन्द्र तामाङलाई जिताउन पहल गर्न उनले अपिल गरे। बदलिएको कांग्रेसले अब देश बदल्छ ढुक्क हुनुस भन्दै शर्माले यस क्षेत्रबाट सुजेन्द्र तामाङ र समानुपातिकतर्फ निर्मला गुरुङ राईलाई दिइने मतले गगन कुमार थापालाई देशको प्रधानमन्त्री बनाउने बाटो खोल्ने दाबी गरे।
उनले थापालाई अनुभव, उत्साह र स्पष्ट भिजन भएको नेताको रूपमा व्याख्या गरे।
राजनीतिक स्थिरता र ‘पाँच वर्ष’ को अवधारणा नेपालको ७५ वर्षको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले ३४ वर्षमा ३० जना प्रधानमन्त्री फेरिएको तथ्याङ्क प्रस्तुत गर्दै राजनीतिक अस्थिरता नै देशको मुख्य समस्या भएको बताए। शर्माले एक ‘राष्ट्रिय संवाद’ को प्रस्ताव गर्दै निर्वाचनपछि जुन दल ठूलो बन्छ, त्यसलाई पूर्ण ५ वर्ष सरकार चलाउन दिने र अन्य दलहरू प्रतिपक्षमा बस्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए।

