
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार राज कुमार लिम्बू (प्रिन्स)ले आगामी संघीय निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मतदातासमक्ष परिवर्तनका लागि साथ दिन अपिल गरेका छन्।
लिम्बुले शनिबार धरानमा पत्रकार सम्मेलन आयोजन गर्दे आफनो १२ सुत्रिय स्थानीय घोषणा पत्र सार्वजानिक गरेका हुन ।
सुनसरी १ निवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै लिम्बूले विगत २० वर्षदेखि पहिचान, अस्तित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे। ‘आफ्नै देशमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ राजनीति प्रवेश गरेको बताउँदै उनले धरानलाई पूर्वकै सुन्दर, विकसित तथा पर्यटकीय केन्द्र बनाउने लक्ष्य लिएको स्पष्ट पारे।
उनले आफुले २२ वर्षकै उमेरमा धरानमै लुक्वा फेमिली रिसोर्ट सञ्चालनमा ल्याएर सयौँ स्थानीयवासीलाई रोजगारी दिएको स्मरण गराउँदै लिम्बूले विगत २५ वर्षदेखि सुनसरी १ मै बसोबास गर्दै सबै भूगोल, समुदाय र स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको दाबी गरे।
उनले सुशासन, पारदर्शिता, विकास र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउँदै आगामी निर्वाचनमा “दाप सहितको खुकुरी” चिन्हमा मत दिएर अत्याधिक बहुमतका साथ विजयी गराइदिन मतदातासमक्ष हार्दिक अपिल गरे।
सलोरामका लिम्बुका प्रतिवद्धताहरू जेन्जी आन्दोलनलाई सम्मान गर्दै सन्तुलित प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्न पहल गर्ने ,सुनसरी १ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याएर उद्योग स्थापना र रोजगारी सिर्जना गर्ने,भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी शासन प्रणाली लागु गर्ने ,सेउती–सर्दु खोलामा करिडोर निर्माण गर्ने,शिक्षा र स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि गर्ने ,संघीय सह–अस्तित्व, १०ं प्लस १ प्रदेश अवधारणा संघीय संसदमा उठाउने रहेको छ भने धरान र आसपासका वडामा सडक सञ्जाल विस्तार र पूर्वाधार विकास गर्ने । पर्यटन प्रवर्द्धन, रात्रीकालीन पर्यटन र होटल व्यवसाय सुदृढीकरण गर्ने,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन, फुसे–तम्मर सुरुङमार्ग निर्माणमार्फत यातायात, विद्युत र खानेपानी समस्या समाधान गर्ने श्रमिक अधिकार संरक्षण र पारिश्रमिक सुधार गर्ने।
लिम्बूले आफु परिवर्तन, विकास र सुशासनका लागि आफू स्थानीय नेतृत्व, स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजनासहित निर्वाचन मैदानमा उत्रिएको दाबी गरेका छन्। उनले भोली देखि घरदैलो कार्यक्रम गर्ने समेत जानकारी दिए ।

