
इलाम: सिर्जनशील समाजिक युवा समूह नेपालले इलाममा साहित्य अधिवेशन तथा साहित्यिक कार्यक्रम अयोजना सपन्न गरेको छ । समूहको दोस्रो अधिवेशनको अवसरमा गरिएको कार्यक्रममा नयाँ कार्य समितिको चयन र साहित्यिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा ऋजन मायालु, प्रदीप योङहाङ र पवित्रा घिमिरेगरि तीन कविले कविता वाचन गरेका थिए । यसैगरि कार्यक्रमको अर्काे चरणमा ‘अबको साहित्य लेखन के हुने ?’ विषयमा पहिचानी कवि प्रकाश थाम्सुहाङ सङ्ग बहस गरिएको थियो । निकै रोचक बहस रहेको सो कार्यक्रममा कविता राई प्रस्तोता रहेका थिए । बहसमा कवि प्रकाश थाम्सुहाङले मोफसल र केन्द्रको भन्ने धारणा भत्किदैँ गएको बताउँदै राजधानीका लेखकहरुले राजधानीबाहिरका लेखकहरुलाई चिने पनि नचिनेजस्तो गरिरहेको बताएका थिए ।
बहस कार्यक्रमको टिप्पणीकर्ताको रुपमा रहेको जनकऋषि राईले साहित्यिक लेखनमा बहुकेन्द्रको खोजी हुनुपर्ने बताए । कार्यक्रमको टिप्पणी गर्दै राईले गाईलाई माता देख्ने साहित्यले बाख्रालाई आफ्नो चेली देख्ने विषयलाई पनि सत्य स्वीकार्नु पर्ने बताए ।
समीक्षा छिलिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिर्जनशील अराजकता अवधारणाका नेतृत्वकर्ता हाङयुग अज्ञात रहेका थिए। विशेष अथितिमा प्रतिभा पौडेल रहेका थिए । कार्यक्रममा समूहको अधिवेशनले नयाँ कार्य समिति पनि चयन गरिएको थियो । तीन वर्षको कार्यकाल रहेको सिर्जनशी समाजिक युवा समूह नेपालको अध्यक्षमा जनम लिङ्दम, सह अध्यक्षमा बेनुप भट्टराई, सचिव अनिश राई, सहसचिव जीना अधिकारी र कोषाध्यक्षमा गङ्गा लिम्बू चयन गरिएको थियो ।
सदस्यहरुमा राजकुमारी राई, जितेन चाम्लिङ राई, अञ्जिला थामी अर्पणा, सरोज विश्वकर्मा, प्रेमिका पाण्डे, दिल कुलुङ, सुष्मा राई, निसान कोइराला चिरञ्जिवी दिपेश पाठक रहेका छन् । साहित्यलाई केन्द्रमा राखेर साहित्यिक गतिविधि गरिरहेको यो संस्था ०७८ सालमा स्थापना भएको हो ।

