अर्थ/ पर्यटन

ऐतिहासिक गढीहरू जोड्दै पृथ्वी जयन्ती: राष्ट्रिय एकता र संरक्षणको सन्देश


धरान: राष्ट्रिय एकताको भावना जागृत गराउँदै ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले स्थानीय सरकारसँग समन्वय गरी ३०४औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाएको छ। पूर्वी नेपालको ऐतिहासिक पहिचान बोकेका साँगुरीगढी र विजयपुरगढीलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले इतिहास, पर्यटन र राष्ट्रिय एकतालाई एउटै सूत्रमा बाँध्ने सन्देश दिएको छ ।
नेपाली सेनाको इटहरीस्थित भगवती दल र धनकुटास्थित भीमदल गणको सक्रियतामा धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । यस अवसरमा विजयपुरगढी देखि साँगुरीगढी गाउँपालिकासम्म म्याराथुन दौड प्रतियोगिता तथा ऐतिहासिक मार्ग हुँदै पैदलयात्रा कार्यक्रम सम्पन्न गरिएको थियो ।
सरकारले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदासहित देशभर विविध कार्यक्रम आयोजना गरिरहेका बेला, ऐतिहासिक महत्व बोकेका स्थललाई केन्द्रमा राखेर स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम गर्नु अर्थपूर्ण रहेको आयोजकको भनाइ छ ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले यस्ता कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र संवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । इतिहाससँग जोडिएका स्थलको पहिचान र संरक्षणबिना दिगो पर्यटनको कल्पना गर्न नसकिने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विगतमा गाउँपालिकाले पृथक् रूपमा राष्ट्रिय एकता दिवस मनाउँदै आए पनि यस वर्ष नेपाली सेनाको पहलमा विजयपुरगढी र साँगुरीगढीलाई जोडेर दुवै स्थानीय सरकारलाई समेट्दै कार्यक्रम आयोजना हुनु अत्यन्त महत्वपूर्ण रहेको यसले इतिहास, पहिचान र विकासलाई एकै ठाउँमा जोडेको बताए ।
धरानका समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले नेपाली सेनाले आयोजना गरेको कार्यक्रमले नेपालको ऐतिहासिकता उजागर गर्नुका साथै पुरातात्विक सम्पदाको संरक्षण अभियानमा समेत टेवा पुर्‍याएको बताउदै । विजयपुरगढी र साँगुरीगढी जस्ता स्थललाई राष्ट्रिय पहिचानका केन्द्रका रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाई थियो।

साँगुरीगढी गाउँपालिका–१ बुढिमोरङमा अवस्थित मोराहाङ दरबारका अवशेष यस क्षेत्रको प्रमुख पुरातात्विक सम्पदाका रूपमा परिचित छन् । पुरानो राजा मोराहाङको राजकीय आवास मानिने उक्त स्थलमा दरबारका भग्नावशेष, ‘सुलिकोट’, ढुंगाका स्तम्भ तथा सिक्का र अन्त्येष्टासँग सम्बन्धित सामग्री भेटिने गरेको स्थानीय बताउँछन् । औपचारिक रूपमा संरक्षित स्थल घोषणा नहुँदा यी सम्पदाहरू जोखिममा परिरहेका छन् ।

बिजयपुरगढीलाई पूर्वी नेपालको लिम्बुवान क्षेत्रको ऐतिहासिक राजधानीका रूपमा लिइन्छ । १३औँ शताब्दीदेखि शासन सञ्चालन भएको मानिने यस स्थलमा दरबार र पर्खालका भग्नावशेष, ढुंगा–इँटाका संरचना आज पनि देख्न सकिन्छ । तर अव्यवस्थित बसोबास, अतिक्रमण र संरक्षणको अभावले यसको पुरातात्विक महत्व संकटमा परेको सरोकारवालाहरूको भनाइ छ ।

इतिहास, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध बोकेका यी दुई ऐतिहासिक स्थललाई जोडेर गरिएको कार्यक्रमले संरक्षण, राष्ट्रिय एकता र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने सशक्त सन्देश दिएको सहभागीहरूको विश्वास छ। तीनै तहका सरकारको सहकार्यमा यस्ता प्रयासलाई निरन्तरता दिन सकिए विजयपुरगढी र साँगुरीगढी भावी पुस्ताका लागि अमूल्य धरोहरका रूपमा सुरक्षित रहने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको