
धरान: नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति बोकेको कविता सङ्ग्रह ‘निर्झर’ पाठकमाझ आएको छ । कवि भानेन्द्र सम्बाहाङफेको यो कृति २०८२ मंसिर १० गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पहिलो पटक विमोचन भएपनि दोस्रो पटक आज शनिवार धरानमा पनि सार्वजनिक गरीएको छ।
शनिवार धरान ९ स्थित रत्न इन होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । धरानका साहित्यकार, कविहरुको उपस्थीतीमा निर्झर कविता संग्रह सार्वजनिक गरिएको हो । धरानका अग्रज तथा साहित्यकारहरुले ‘निर्झर’ का विषयमा टिप्पणी, विश्लेषण गरेका थिए । कार्यक्रममा प्रा.डा. गोपाल प्रसाद भण्डारी र डा. जीवन राईले निर्झरको परिचर्चा गरेका थिए।
‘निर्झर’ मूलतः गद्य कविता संग्रह हो । यसमा छन्द र तुकको कडाइ छैन, बरु मुक्त, भावप्रधान र प्रवाहमय शैली अपनाइएको छ । शीर्षक कविता ‘निर्झर’ मा झरना, झरझरी बग्ने पानी र निरन्तर बहावलाई मानव जीवन, चेतना र समयको गतिशीलताको प्रतीकका रूपमा प्रयोग गरिएको छ । त्यसैले यो कविता मात्र होइन, सम्पूर्ण संग्रह नै प्रतीकात्मक, प्रकृतिप्रधान र दार्शनिक अनुभूतिको दस्तावेज बनेको छ ।
प्रकृतिपरक कविता छन्, जहाँ पहाड, नदी, झरना र जीवनको स्वाभाविक बहावलाई प्रतीक बनाएर भाव अभिव्यक्त गरिएको छ । यस्तै भावनात्मक तथा आत्मअनुभूतिका कवितासमेत समेटिएका छन्, जसले मनका द्वन्द्व, पीडा, आशा र संवेदनशील अनुभूति उजागर गरेको छ । यस्तै प्रेमका कविता मार्फत प्रेम, वियोग, स्मृति र मानवीय सम्बन्धका सूक्ष्म पक्ष चित्रित गरिएका छन् ।
कृष्ण पाख्रीन स्मृती प्रतिष्ठान धरानको आयोजनामा निर्झर कविता संग्रह विमोचन भएको थियो। प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले रहेको थियो।

