
इटहरीको ह्याप्पी होमको फरक शैली: उत्पादन र श्रमसँग जोड्न विद्यार्थीलाई तरकरी विक्रीमा सहभागी
इटहरी: इटहरी–२० को किड्स ह्याप्पी होम परिसर मंगलबार सामान्य स्कुल जस्तै देखिएन । कक्षाकोठाभित्र किताबका पाना पल्टिन्थे भने बाहिर साना हातमा तराजु, प्लास्टिकका टोकरी र ताजा तरकारी थिए । ‘आउनुहोस् तरकारी किन्नुस’ भन्दै विद्यार्थीहरू आत्मविश्वासका साथ ग्राहक बोलाइरहेका थिए ।
पढाइ सकेपछि काम गर्न सक्ने, जीवनसँग जुध्न सक्ने विद्यार्थी तयार पार्ने उद्देश्यले स्कुलले यो फरक अभ्यास सुरु गरेको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई तरकारी विक्रीमा सहभागी गराइएको थियो ।
कक्षा ३ मा अध्ययनरत आयन न्यौपानेका लागि त्यो दिन सामान्य कक्षा थिएन । ‘हामीले बजारबाट तरकारी किनेर ल्यायौँ, अनि गाउँले र अभिभावकलाई बोलाएर बेच्यौँ,’ आयनले गर्वका साथ सुनाए । पहिलो पटक पैसासँग हिसाब, ग्राहकसँग व्यवहार र श्रमको मूल्य बुझ्ने अवसर पाए उनीहरूले ।
स्कुलकी प्रिन्सिपल रिता भूसालका अनुसार विद्यार्थीलाई उत्पादन र श्रमसँग जोड्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो । ‘स्थानीय पाठ्यक्रमअनुसार यहीँ पाइने तरकारी प्रयोग गरेर व्यवहारिक ज्ञान दिन खोजेका हौँ,’ उनले भनिन् ।
दिउँसो १ बजेदेखि ३ बजेसम्म स्कुल परिसरमै राखिएको अस्थायी तरकारी विक्री केन्द्रमा गाउँले र अभिभावकको बाक्लो उपस्थिति देखिन्थ्यो । नानीहरूकै आग्रहमा तरकारी किन्न पुगेका धेरै अभिभावकहरु प्रसन्न मुद्रामा देखिन्थे ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थी आ–आफ्नो जिम्मेवारीमा खटिएका थिए । कसैले तरकारी मिलाउँदै थिए, कसैले मूल्य भन्दै थिए, कसैले पैसा लिँदै हिसाब राखिरहेका थिए । दुई घण्टामै बजारबाट ल्याइएका सबै तरकारी विक्री भए ।
यो केवल तरकारी विक्री मात्र थिएन । यो आत्मनिर्भर बन्ने अभ्यास थियो, जीवनका साना तर महत्वपूर्ण पाठ सिक्ने अवसर थियो । किताबमा पढिने पाठभन्दा बाहिर निस्केर व्यवहारमा सिकाइँदा विद्यार्थीका आँखामा देखिएको उत्साह नै यो कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि बनेको प्रिन्सिपल भुसालको बुझाई थियो ।

