
धरान: जेनजी आन्दोलनका घाइते, सहिद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको‘ राष्ट्रिय परिवर्तन पार्टी’को औपचारीक घोषण सभा दमकको आदिवासी रंगशालामा मंसिर २७ गते हुने भएको छ ।
बुधबार जेनजी युनाईटेड मुभमेन्ट धरानले पत्रकार सम्मेलन आयोजना गर्दै जेनजी युनाईटेड समुहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा दमकमा हुने जानकारी दिएको हो ।
ऐतिहासिक घोषणा हजारौँ युवासँगै प्रत्यक्ष रूपमा आन्दोलनको पीडा भोगेका घाइते तथा सहिद परिवारहरू विशेष रूपमा सहभागी हुने जेनजी मुभमेन्टका सिमा राईले जानकारी दिईन । उनले हाल देशभरबाट सभामा ३३ हजार ७५७ जना जेनजी युवाहरुको समर्थन भएको जानकारी दिए ।
घोषणा सभा आन्दोलनमै एक खुट्टा गुमाउन बाध्य भएका राजेश पोर्तेल अध्यक्षतामा हुने भएको राईले बताईन । पार्टी घोषणा सभामा गम्भीर घाइते प्रकाश बोहोरा, आँखा गुमाएका सन्तोष बोहोरा, २० वटा छर्रा शरीरमा बोकेर बाँच्न बाध्य भूपेन्द्र खड्का, चार गोली घाईते सहित विदेशिन बाध्य प्रदेश राई,“बाबु कहिले आउँछ” भनी सोधिरहने सहिद दिनेश राजबंशीकी सानी छोरी, लगायतका पीडितहरूको उपस्थिति रहने सम्मेलनमा बताईएको छ ।
सम्मेलनमा राष्ट्रिय परिवर्तन पार्टी कुनै साधारण राजनीतिक संगठन नभई आन्दोलनका घाउ, आँसु र बलिदानबाट जन्मिएको राजनीतिक परिवार भएको बताए।
सरकारले देशलाई चुनावतर्फ धकेलेपछि आन्दोलनका मुद्दा ओझेलमा पर्ने खतरा देखिएकाले युवाहरूले आफैं अघि बढेर सत्य र न्यायका लागि चुनावी यात्रामा उभिन बाध्य भएको उनीहरुको तर्क रहेको थियो। राईले उद्घाटन सभामा १५ देखी २० हजार मानिसको उपस्थिति रहेको अनुमान गरिएको बताईन ।
घोषणा सभा मार्फत सहिद परिवार र घाइतेहरूलाई “तपाईंहरू एक्ला हुनुहुन्न, देशभरका युवाहरू तपाईंहरूसँगै उभिएका छन्” भन्ने सन्देश प्रतिध्वनित गरिने भएको छ ।
घोषणासभामा देशका विभिन्न स्थानबाट आएका गम्भीर घाइतेहरू तथा सहिद परिवारका सदस्यहरूले सहभागिता जनाउने भएका छन ।

