
धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न ठाँउका विद्यालयहरूलाई पत्र पठाइसकेपछि “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। हालसम्म २५ विद्यालयले औपचारिक नाम दर्ता गराइसकेको विद्यालयले जनाएको छ।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ता गर्ने अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ, र सो म्यादभित्र जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। उनले यस कार्यक्रमले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास तथा लोकसेवा आयोगस्तरका प्रश्न–समाधान कौशल विकास गर्ने उद्देश्य रहेको बताए।
यसबिच प्रतियोगिताका लागि आवश्यक तयारीलाई विद्यालयले तिव्र रूपमा अघि बढाएको छ।
धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमै आगामी पुष ९ र १० गते कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेछ।
२०६२ सालमा स्थापना भएको हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय, अनुशासित र नैतिक मूल्यमा आधारित शिक्षाको परम्परा निरन्तर कायम राख्दै आएको छ। समावेशी शिक्षामार्फत निम्न आय भएका परिवारका बालबालिकालाई समेत उत्तिकै अवसर प्रदान गर्दै आएको विद्यालयले विद्यार्थीको बौद्धिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ।
विद्यालयले विगत तीन वर्षदेखि अन्तर–विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस वर्षबाट प्रतियोगितालाई खुला कोशी प्रदेशस्तरमा विस्तार गरिएको छ, जसअन्तर्गत प्रदेशका १४ जिल्लाबाट ठूलो सहभागिता रहने अपेक्षा छ।
पुरस्कारहरू:
प्रथम पुरस्कार – नगद रु २०,०००, रनिङ ट्रफि, मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार – नगद रु १५,०००, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार – नगद रु ८,०००, प्रमाणपत्र
चौथो पुरस्कार – नगद रु ६,०००, प्रमाणपत्र
पाँचौं पुरस्कार – नगद रु ४,०००, प्रमाणपत्र
सान्त्वना पुरस्कार – नगद रु २,०००, प्रमाणपत्र
पुष ९ गतेको प्रारम्भिक चरणबाट उत्कृष्ट ६ टिम छनोट भई पुष १० गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
२०७९ सालमा सुरु भएको प्रतिस्पर्धामा पहिलो वर्ष हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो वर्ष नेपाल पुलिस स्कुल र तेस्रो वर्ष पुनः हिविस्कस स्कुले विजेता बनेका थिए।

