अपराध

जेनजी आन्दोलनको नाममा तोडफोड र आगजनी संलग्नलाई कार्बाही सुरु भयो: वासुदेव घिमिरे


धरान: धरानमा जेनजी आन्दोलनको आवरणमा भएका तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि सुनसरी प्रहरीले कडाइका साथ कारबाही सुरु गरेको छ । बुधवार सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको शान्ति–सुरक्षा विषयक अन्तरक्रियामा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रहरी सक्रियताबारे विस्तृत जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पछिल्ला दिनमा प्रहरीमा उजुरी दिए पनि दर्ता नहुने गुनासो बढेका बेला, अहिले भने प्रहरी प्रशासन प्रमाण संकलनदेखि पक्राउसमेतमा तीव्र रूपमा अघि बढिरहेको छ ।
उहाँले भन्नुभयो–‘इटहरीमा भएको घटना सम्बन्धमा आजकै दिन तीन जना पक्राउ परिसकेका छन्, यो सुरुवात मात्र हो । सबै घटनामा संलग्नलाई कानुनसम्मत कडा कारबाही हुनेछ, पीडितहरू ढुक्क हुनुहोस् ।’
प्रजिअ घिमिरेले धरान, इटहरी र जिल्ला प्रहरी कार्यालयहरूबीच समन्वय गरी सबै आपराधिक गतिविधिका प्रमाणहरू संकलन भइरहेको जानकारी दिनुभयो ।
घिमिरेले जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताजस्ता मुद्दा महत्वपूर्ण भए पनि आन्दोलनका नाममा गरिएका आगजनी, तोडफोड र लुटपाट जस्ता गतिविधि क्षम्य नहुने बताउनुभयो ।
‘आन्दोलनलाई आन्दोलनकै रूपमा हेरिन्छ,’ उहाँले भन्नुभयो, “तर आपराधिक गतिविधिमा संलग्न कसैलाई पनि कानुनी छुट दिइने छैन । ’
उहाँका अनुसार आन्दोलनका क्रममा निजी घर, होटल र व्यवसायिक संरचनामा भएको क्षति गम्भीर विषय हो र यसले सर्वसाधारणलाई मात्र होइन, समग्र शहरको सुरक्षात्मक संरचनालाई नै प्रभावित बनाएको छ ।
व्यवसायिक सुरक्षालाई प्राथमिकतामा राख्ने बताउँदै प्रजिअ घिमिरेले हप्ता उठाउने, धम्क्याउने, गुण्डागर्दी गर्ने तत्वहरूबारे ढुक्कसाथ सूचना दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘संकोच मान्नुपर्दैन । यस्ता अपराधीलाई कानुनी कठघरामा उभ्याइएन भने उनीहरू अभ्यस्त बन्छन् ।’फागुन २१ गते हुन लागेको निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
यस्तै प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुँयालले प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीको सक्रियतामा शान्ति सुरक्षा गर्ने काममा कहिल्यै पछि नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘हामी जनताको सुरक्षामा खटिएका सिपाही हौै, जनधनको सुरक्षासँगै सामाजिक, व्यवसायिक लगायतका सुरक्षामा हामी गम्भीर छौ ।’
सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले शान्ति सुरक्षा कायमका लागि प्रहरीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुले राखेका गुनासाहरुमा प्रहरी गम्भीर भएर समाधान गर्नेतर्फ लाग्ने आश्वासन दिनुभयो ।
आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख मौषम पौडेल, संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठलगायत अन्य सरोकारवालाहरूले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा होटल व्यवसायी सौरभ श्रेष्ठ, यातायात व्यवसायी सरोज श्रेष्ठ, अग्रज पत्रकार हर्ष सुब्बा, सुनसरी उद्योग वाणिज्य संघका वाणिज्य सचिव नविन राजभण्डारी लगायतले व्यवसायीहरूले व्यावसायिक वातावरणमा देखिएका चुनौती र सम्भावित समाधानबारे प्रश्न उठाएका थिए । कार्यक्रम संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रधानले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ