
धारान: धरानको फ्रेन्ड्स सिनेमामा प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ रिलिज भएको दुई दिनमै हलबाट हटाइएको छ। दर्शकको लगभग ९० प्रतिशत सीट भरिँदा पनि हलले फिल्मको शो बन्द गरेको हो।
कार्तिक २१ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ मध्ये फ्रेन्ड्स सिनेमाले ‘मन बिनाको धन’ लाई पहिलो र दोस्रो दिन एक–एक शो मात्र दिएको थियो। सोही अवधिमा ‘जारी २’ लाई भने सातवटा शो दिइएको थियो।
दुबै फिल्मको अग्रिम बुकिङ उत्साहजनक रहँदा पनि, ‘मन बिनाको धन’ हेर्न विशेष गरी स्कुले विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। तर, हलका सुपरभाइजर पवन मास्केले फिल्मको शो हटाउने निर्णय दर्शकको प्रकार र उपस्थितिको आधारमा गरिएको दाबी गरेका छन्।
उनका अनुसार, “फिल्ममा दर्शकको अकुपेन्सी पर्याप्त थिएन। विद्यार्थी बाहेक अन्य दर्शक नआएकाले शो हटाइएको हो। दसैंको बेला पनि फिल्म राम्रोसँग चलेन। अहिलेको परिस्थितिमा छलफल गरेरै निर्णय गरेका हौं,” उनले भने।
तर, सो दिनको टिकट बुकिङ र हलभित्रको भीड हेर्दा सुपरभाइजरको भनाइ प्रश्नवाचक देखिन्छ। दर्शकहरूले सामाजिक सञ्जालमा हलभित्रको भीडका भिडियो र तस्बिर सार्वजनिक गर्दै हलप्रति असन्तुष्टि जनाएका छन्।
फिल्मका निर्देशक टंक बुढाथोकीले रिलिजअघि नै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए। उनले लेखेका थिए, “म हार्दैछु, मलाई हराउन धेरै लाग्यो। ठीक छ, सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि, न्याय तपाईंहरूकै हातमा छ।”
बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षमा आधारित यस फिल्ममा धरानकै बालकलाकार बाबू पराजुलीको समेत अभिनय रहेको छ। देशभरका हलमा फिल्मले दर्शकलाई भावनात्मक रूपमा छोएको प्रतिक्रिया आएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावकसम्म हलभित्र रुँदै बाहिर निस्किएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।
वितरक छवि ओझाका अनुसार, “अन्य फिल्म राम्रो चलिरहेका कारण हाम्रो फिल्मले शो पाएको छैन। हलसँग निरन्तर समन्वय भइरहेको छ,” उनले बताए।
मंगलबार र बुधबार टिकट छुट हुने भएकाले हलमा सामान्य दिनभन्दा बढी भीड हुने गर्छ। तर ‘जारी २’ र ‘परान’ को शो अटाएको फ्रेन्ड्स सिनेमाजमा ‘मन बिनाको धन’ नअटाउँदा दर्शकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय दर्शकहरूको भनाइमा, फिल्मको विषयवस्तु र अभिनयले मन छोए पनि, पर्याप्त शो नपाउँदा ‘मन बिनाको धन’ अन्यायमा परेको अनुभूति उनीहरूले गरेका छन्।

