
काठमाण्डौं: काममा चमत्कारिक छबि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टा जनता सडकमा भोकैप्यासै रातदिन बिताइरहँदा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसकेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ । अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा रमाईरहेको बताउनुभएको छ ।
मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक असोज ३ गते साँझ साढे ६ बजे खसेको पहिरो अझैसम्म पन्छाउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउने काम गरेको भएपनि सरकारले अन्य स्रोतहरुको परिचालन नगरेर जनताको समस्याप्रति वेवास्ता गरेको मजदुर नेता राईले दुखेसो गर्नुभयो ।
सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गर्दै आइरहेको संगठनले भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा करिव ३५ हजार सवारी साधनमा काम गर्ने करिव ८० हजार यातायात मजदुरहरु र करिव ५ लाख यात्रुहरु तीनदिनदेखि अलपत्र परेको बताउँदै सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउन पर्याप्त नहुने बताउँदै आइरहेको थियो ।
जनता सडकमा भोकभोकै फँसिरहेको बेला मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा मस्त हुनु जनताप्रति सरकार उदासिन रहेको अध्यक्ष राईले बताउनु भएको छ । यतिबेला मन्त्रीले सरोकारवालाहरुलाई छलफलमा बोलाएर तत्काल सडकको पहिरो पन्छाएर यातायात सुचारु गर्नुपर्नेमा विदेशीसंग भेटघाटमा मस्त हुनु गैर जिम्मेवारी रहेको नेता राईले बताउनुभएको छ ।
असोज ३ गतेदेखि मुग्लिङ भरतपुर ३६ किलो मिटर र मुग्लिङ नागढुङ्गा करिव सय किलोमिटर सडक पूर्ण रुपमा जाम छ । काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द तीनदिनदेखि देखि सडकमै छन् उनि रमाइलो डाँडाबाट ७ घण्टा हिँडेर तुइन खोला पुलसम्म पुगेकाछन् । उनका अनुसार बाटोभरी हजारौँ यात्रुहरु अलपत्र छन् सबै भन्दा बढी महिला, बालबालिका, बृद्धबृद्धा र बिरामीहरु मारमा परेकाछन् । कतिपय यात्रुहरु खर्च बिहिन अवस्थामा छन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि प्रशासनले रोकेपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताउनुभयो । वहाँले भन्नुभयो पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडी जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ । पहिरो पन्छाउन नसकेपछि कतिपय यात्रुहरु पैदल नै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।