
धरान: साँगुरीगढी गाउँपालिकाको नाम्जे सञ्चालित होमस्टे पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । पूर्वमा घुम्न आउनेहरु यसपटक नाम्जेमा रहेको होमस्टेमा थकाइ मेट्ने, रमाइलो गर्नेमात्र हैन त्यही उत्पादन भएको आर्गनिक सागसब्जी, लोकल कुखुराको मासुका परिकारले मन्त्रमुग्ध हुन थालेका छन् । साँगुरीगढी गाउँपालिकाको आन्तरिक आयस्रोतको रुपमा होमस्टे बन्दै गएपछि गाउँपालिकाले समेत होमस्टे सञ्चालनमा आर्थिकसँगै अन्य सेवा दिने गरेको छ ।
मोरङको सलकपुरका मोहन चापागाई नाम्जेमा पाइने सेवा सुविधाका विषयमा धेरै अगाडिदेखि सुने पनि होमस्टेमा आएर बस्न भने अहिलेसम्म मौका मिलेको थिएन । उहाँसँगै ७ जना साथी मिलेर शनिवार नाम्जेमा रहेको होम स्टेमा बास बस्नुभयो । तराईको उद्युम गर्मी छल्ने र एक रात होमस्टेमै बस्ने उद्देश्यका साथ होमस्टे पुग्नु भएका चापागाईलाई यहाँ सञ्चालन भएका होमस्टेले दिएको सेवा सुविधा अर्गानिक भएको र आफू यहाँ आएर बस्दा सन्तुष्ट भएको बताउनुभयो ।
मोहन चापागाइको समूहमात्र हैन शनिवार नै धेरै समूहहरु नाम्जेमा रहेका होमस्टेमा भेटिएका थिए । भेडेटारमा भएका होटलमा महंगो हुने भएपनि यहाँ सस्तोमा अर्गानिक खानपिन र पहाडको ग्रामीण भेगमा बसोबास अनुभव हुने भएकोले पनि होमस्टेको बसाई अत्यन्तै राम्रो भएको अन्य समूहको पनि भनाई थियो ।
नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध थपिएको छ । यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । होमस्टेमा चहलपहल बढेकै कारण त्यहाका होमस्टे सञ्चालक र कृषि पेशामा आश्रित सर्वसाधारणको राम्रो जीविका चलेको छ ।
कुनै बेला यहाँ उत्पादन भएको सागसब्जी विक्री गर्न सुनसरीको धरान बजार नै पुर्याउनुपर्ने बाध्यता थियो तर होमस्टे सञ्चालन गरेपछि होमस्टेमै सागसब्जी प्रयोग हुने भएकोले यो पेशा छोड्नै मन नलागेको नाम्जेका होमस्टे सञ्चालकहरु बताउछन् ।
होमस्टे सञ्चालककै कारण यहाँका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयासम्म कारोबार हुने गरेको उनीहरुको भनाई छ । होमस्टेमा आउने पाहुनाहरुले रमाइलो गर्ने भएकोले यहाँ आएर बस्ने आन्तरिक तथा बाह्य पर्यटक धेरै खुसी हुने गरेका छन् । त्यसो त गाउँपालिकाले समेत होमस्टे सञ्चालकलाई सहयोग पुर्याउदै आएको छ । साँगुरीगढी गाउँपालिकाको मुख्य आयस्रोत कृषि र पर्यटन भएकोले होमस्टे सञ्चालकलाई समय समयमा तालिम दिने, सञ्चालका लागि सहयोग गर्ने बजेट छुट्याइएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।
पछिल्लो समय भेडेटार घुम्न आउने पर्यटकहरुपनि भेडेटारमा सञ्चालन भएका ठूला तथा सुविधा सम्पन्न होटलहरु भन्दा पनि नाम्जेमा सञ्चालन भएका होमस्टेमा बस्न बढी रुचाउने गर्छन् । यहाँ सञ्चालन भएका होटलमा भन्दा होमस्टेमा आर्गनिक खाना सस्तो र सुलभ ढंगबाट पाउने र मगर जातिकौ साँस्कृतिक नाचगानहरु हेर्न पाउने भएकोले पनि पछिल्लो समय नाम्जे थुम्कीका होमस्टे पर्यटकको रोजाईमा परेको हो । स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनमा बजेट नै छुट्याएर होमस्टेको प्रवद्र्धनमा लागेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुमदालीले बताउनुभयो ।
होमस्टेले होमस्टे सञ्चालकलाई मात्र हैन साँगुरीगढी गाउँपालिकाकामा उत्पादन भएका कृषि सामाग्रीको खपत हुदा कृषक समेत लाभान्वित भएका छन् भने साँगुरीगढी गाउँपालिकाको मुख्य आयस्रोतको बाटो समेत बनेको छ । साँगुरीगढी गाउँपालिकामा रहेका पर्यटकीय स्थल, स्काइ वाकसँगै होमस्टे समेत पर्यटक तान्ने माध्यम बनेको छ ।