
धरान: धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप ९ लाख बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध गरेपछि स्थानीयहरु आक्रोशित बन्दै प्रहरी चौकी निर्माण रोक्न नहुने बताउदै आएका छन् ।
स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा प्रहरी चौकी निर्माण गर्ने निर्णयसँगै निर्माणको काम शुरु भएको थियो । शुरुमा ९ लाख बजेटबाट शुरु गरिएको यो भवन बजेट अभावकै कारण सम्पन्न हुन सकेको थिएन । पछिल्लो समय प्रदेश सांसद ममता योञ्जनको पहलमा सोही शिर्षकमा आएको थप बजेटबाट काम सुचारु गर्न शनिवार निर्माण सामाग्री खरिद गरी काम सुचारु गर्ने समयमा मेयर हर्कराज राईले रोकेपछि स्थानीयहरु आक्रोसित भएका छन् ।
अन्य वडामा त्यही प्रकृतिका अस्थायी प्रहरी चौकी निर्माण भई प्रहरीले सुरक्षा प्रदान गरिरहेको बेला धरानकै सबैभन्दा ठूलो वडामा सुरक्षाको अपरिहार्य भएको ठाउँमा कार्यपालिकाबाटै निर्णय गरेको कुरालाई मेयर हर्कराज राईले अवरोध गरेपछि त्यहाँका स्थानीय, १६ नं. वडाका जनप्रतिनिधिहरु रुष्ट बनेका हुन् ।
नौलो बस्ती लगायतका स्थानमा लागू औषध प्रयोगकर्ताको चहलपहल बढ्ने, अपराधिक घटना घट्न सक्ने अवस्था भएका कारण स्थानीयहरुले छेउमा बनेको गोलो घरको भन्दा प्रहरी चौकी निर्माण आवश्यक रहेको बताएका थिए ।
स्थानीय सपना विकले गोलो घरको भन्दा पनि शान्ति सुरक्षाको हिसाबले प्रहरी चौकी आवश्यक भएकोले बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा लागू औषध प्रयोग गर्ने, हो हल्ला गर्ने, कुटपिटको घट्ना घटिरहने सम्बेदनशील क्षेत्र भएकोले पनि यस क्षेत्रमा प्रहरी चौकी अनिवार्य जस्तै रहेको अर्की स्थानीय महिला चन्द्रा विकले बताउनुभयो । नौलो बस्ती एकान्त ठाउँ भएकोले हतियार बोकेर हिड्नेहरु समेत यहाँ ओहोरदोहोर गर्ने गरेकाले प्रहरी चौकी बनेको खण्डमा यस्ता गतिविधि रोकिने हुदा प्रहरी चौकी अनिवार्य बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो सपना र चन्द्रा जस्ता धेरै सर्वसाधारण विगतदेखि नै असुरक्षित महसुस भएको स्थानमा प्रहरी चौकी बन्ने कुरामा ढुक्क थिए । बाहिरबाट यहाँ आएर हुने यस्ता अपराधिक गतिविधिले आफ्ना सन्तान समेत बिग्रिने हो कि भन्ने त्रासमा बसेका स्थानीयबासिन्दा अहिले प्रहरी चौकी निर्माणमा अवरोध खडा भएपछि भने निराश बनेका छन् ।
उनीहरुजस्तै धेरै स्थानीयहरुको माग यहाँ प्रहरी चौकी बनोस् र शान्ति सुरक्षा कायम होस् भन्ने नै हो । तर निर्माण शुरु भएको काम समेत व्यक्तिगत स्वार्थका कारण रोकिन गएको छ ।
यता धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले कार्यपालिकाको बैठकपछि निर्माण शुरु गरेको काम बजेटकै अभावले निर्माण हुन नसकिरहेको अवस्थामा वडाले निर्माण सम्पन्न गर्न पहल कदमी गरिरहेको बताउनुभयो । उहाँले दुई बर्ष अगाडि कार्यपालिकाको बैठकबाट निर्णय भइ उपमहानगरपालिकाको थोरै बजेटले निर्माणको काम शुरु गरेको बताउदै बजेटकै अभावका कारण काम सम्पन्न हुन नसकेको बताउनुभयो । पछिल्लो समय प्रदेश सरकारले बजेट विनियोजन गरेपछि काम फेरी सुचारु गर्ने क्रममा मेयर राइले आज नगरप्रहरी पठाएर काम रोक्न लगाएर अवरोध गरेको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाको सबै भन्दा ठूलो माग प्रहरी चौकी भएका कारण त्यसका लागि वडाले पहल शुरु गरेको बताउनुभयो ।
वडामा अस्थायी भएपनि प्रहरी चौकी बन्छ र शान्ति सुरक्षाको महसुस गर्न पाइन्छ भन्ने ढुक्कमा बसेका स्थानीयहरु काम गर्दा गर्दै अवरुद्ध भएपछि भने निराश बनेका छन् ।
यस क्षेत्रमा पर्यटककलाई तान्नको लागि बहुभाषिक पाठशालाको शिसाको गोलो घर निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको अवधारणासँगै शान्ति सुरक्षा पनि जोडिएको हुन्छ । जहाँ शान्ति सुरक्षा हुदैन त्यहाँ पर्यटकको आगमन नै हुदैन । पर्यटन प्रवद्र्धनसँगै शान्ति सुरक्षामा समेत स्थानीय सरकारले ध्यान पुर्याउनु पर्ने हुन्छ ।