
धरान: एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै एक प्रभावशाली अभिमुखिकरण कार्यक्रम शनिबार धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना -याडिकल लाइट नेपाल प्रा.लि., धरानले गरेको हो। कार्यक्रमको सहजीकरण गर्दै संस्थाका अध्यक्ष तिर्थ कार्कीले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए।
उनले धाराप्रवाह रूपमा बोल्नका लागि विषयवस्तुको स्पष्ट ज्ञान, समृद्ध शब्दभण्डार, पर्याप्त तयारी, नियमित अभ्यास, प्रभावशाली वक्ताहरूको अवलोकन, र शरीरको हाउभाउलाई भाव अनुसार मिलाउनु पर्ने जस्ता महत्वपूर्ण पक्षहरूमा जोड दिएका थिए।
आयोजक संस्थाका अनुसार, अभिमुखिकरणको उद्देश्य फाइनल प्रस्तुतीलाई थप धारिलो, आत्मविश्वासी र मौलिक बनाउनु रहेको थियो।
सहभागीहरूमध्ये समिक्षा पौडेलले भनिन्, “पहिलो अडिसनदेखि अहिले सम्म फरक-फरक कुराहरू सिक्न पाइयो।”
अर्की सहभागी होमिता पोख्रेलका अनुसार अभिमुखिकरणले आफ्ना कमजोरी सुधार्दै आत्मविश्वासमा निखारता ल्याएको छ।
प्रतिक्षा तामाङ र सृष्टिका राईले पनि कार्यक्रमबाट सकारात्मक सिकाइ र अनुभव मिलेको प्रतिक्रिया दिएका छन्।