
धरान: -याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार धरान–३, सदन रोडस्थित कार्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको सहजीकरण गर्दै प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका महत्वपूर्ण पक्षहरूबारे प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा माइक्रोफोनको सही प्रयोग, शरीरको उभ्याइ, हाउभाउ, प्रस्तुति शैली, भाषणको गति, आवाजको उतारचढाव, तयारीमा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएका थिए।
आयोजकका अनुसार अभिमुखिकरणको उद्देश्य फाइनल प्रस्तुति थप धारिलो र मौलिक बनाउनु हो।
सहभागी जिज्ञासा भट्टराईले “पहिलो अडिसनदेखि फाइनलसम्मको यात्रामा धेरै कुरा सिक्न पाइयो,” भन्ने अनुभव सुनाइन्। अर्की सहभागी सन्जिना राईले अभिमुखिकरणपछि आत्मविश्वास धेरै बढेको बताइन्। निशान बिश्वकर्मा र शुभम पोखरेलले प्रशिक्षणबाट सकारात्मक सिकाइ र अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका छन्।