
धरान: नेपाली युवाहरु रोजगारीको अभावमा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको बेला रोजगारीकै अवसर जुटाउन स्थानीय सरकार धरान उपमहनगरपालिकाले धरानमा २ दिने ‘धरान स्वरोजगार मेला २०८२’ को आयोजना गर्नेे भएको छ ।
धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा वैशाख ११ र १२ पब्लिक हाई स्कुलको खेल मैदानमा स्वरोजगार मेलाको आयोजना हुन लागेको हो ।
नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली“ अन्तर्गत ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य लिएर स्वरोजगार मेलाको आयोजना गर्न लागिएको आयोजक धरान उपमहानगरपालिकाले जनाएको छ । स्थानीय उद्योग व्यवसाय, पर्यटन, होटल व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने हेतुले धरान उपमहानगरपालिकामा “धरान रोजगार मेला २०८२“ को आयोजना गर्न लागिएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँले धरान उपमहानगरपालिकामा हुन लागेको यस रोजगार मेलाले विद्यार्थी तथा युवाहरुलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगार र सीपमूलक तालिम को खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने बताउनुभयो । प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने यस मेलामा उद्योग व्यवसाय, तालिम प्रदायक संस्था लगायत अन्य क्षेत्रका रोजगारदाता लगायत उद्योग वाणिज्य संघको समेत सहभागिता रहनेछ ।
मेलामा सुनसरी उद्योग वाणिज्य संघको समेत सहकार्य रहने छ । ५ सय जना युवा जनशक्तिले विभिन्न क्षेत्रमा स्वरोजगार पाउने अपेक्षा लिएको सो मेलामा विभिन्न संघ संस्थाबाट १ हजार ७८ स्वरोजगार युवाको आवश्यकता रहेको जानकरी समेत मेलाको अवसरमा प्राप्त भएको आयोजकले जनाएको छ ।
सो अवसरमा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले स्वरोजागरका विषयमा विभिन्न संघ संस्थासँग समन्वय गरेर युवाहरुलाई स्वरोजारको प्राप्त गर्ने अवसर जुराउने यो मेलाको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाले युवा जनशक्ति चाहिने संस्थाले छुट्टै प्रकारको सहमति गर्ने र श्रमिकहरुले पाउने सुविधा, विदा र तलबका विषयमा स्पष्ट खुलाइने समेत जानकारी दिनुभयो ।
मेलामा रोजगार सम्बन्धि जानकारी तथा सूचना र सम्भावित रोजगारदाता संग प्रत्यक्ष भेट, सीप र योग्यता अनुसारको रोजगारीको सम्भावना, व्यक्तिगत प्रोफाइल बनाउने र अन्तरवार्ता सहित रोजगारीको व्यवस्था मिलाउने, आफूले रोजेको र लिन चाहने सीपमुलक तालिम सम्बन्धि जानकारी गराउदै विभिन्न तालिम प्रदायक संस्थाहरुसँग प्रत्यक्ष भेट गराउने अवसर पाप्त हुने भएकोले धरानमा पहिलो पटक लगाउन लागिएको रोजगार मेला प्रभावकारी हुने अपेक्षा समेत गरिएको छ ।