
धरान: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन्।
र्याडिकल लाइट नेपाल प्रा.लि. धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्।
सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल छन्। त्यसैगरी, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल बाट दिविका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल, पानबारी का निशान विश्वकर्मा, सरस्वती मा.वि., पानबारी की निर्मला भण्डारी र आयुषा आचार्य पनि सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्यस्तै, होली बेल इङ्लिस सेकेन्डरी स्कुल, झापा का आविष्कार राउत, बेबिलोन सेकेन्डरी बोर्डिङ, इटहरी की होमिता पोख्रेल, भरौल बाल मन्दिर इङ्लिस स्कुल, बराहक्षेत्र की सलिना राई, ब्लुम नेपाल स्कुल, इटहरीका शुभम पोख्रेल, पर्वत सेकेन्डरी स्कुल, धरानका निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाल, कार्मेल हाईस्कुलकी पूजा लिम्बु, भानु स्मृति मा.वि., धरान की प्रतीक्षा तामाङ, सियोन स्कुलकी सोनिया राई, के.के. इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, जेम सेकेन्डरी बोर्डिङ, धरानकी सन्जिना राई र सुनाखरी एकेडेमीकी नाबिया सरखाना सेमिफाइनलमा छानिएका छन्।
प्रतियोगिता धरान–३, सदन रोडस्थित प्रा.लि.को कार्यालयको हलमा सम्पन्न भएको थियो। प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सैनिक आवासीय मा.वि. का अङ्ग्रेजी शिक्षक डिल्लीराम कट्टेल थिए।
प्रतियोगीहरूले “नेपालको वर्तमान शिक्षा प्रणाली”, “देश विकासमा युवा पुस्ताको भूमिका”, “नेपाली संस्कृतिको संरक्षणमा हाम्रो कर्तव्य”, “डिजिटल प्रविधिको प्रभाव: वरदान कि अभिशाप?”, “जलवायु परिवर्तन र हाम्रो दायित्व”, “सकारात्मक सोचको शक्ति”, “हरेक व्यक्ति इमानदार: समृद्ध राष्ट्रको आधार” यस्ता सात शीर्षकमध्ये एक छानेर बोल्ने अवसर पाएका थिए।
प्रतियोगिताका विजेताले रु. ५५,००० नगद, धरानमा प्लस टु अध्ययनका लागि शत–प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, फर्स्ट रनर–अपले रु. २५,००० नगद र ६० प्रतिशत छात्रवृत्ति, तथा सेकेन्ड रनर–अपले रु. १०,००० नगद र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार, एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाक्कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।