
रोहित कुलुङ
चैत ११ गते दिउसोको ४ बजे मोबाईलको घण्टी बज्यो बिकास दाईले फोन गर्नु भएको रहेछ मैले फोन उठाए।
म: दाइ नमस्कार!
बिकास: भाइ भोलि तमोर र्याफ्टिङ जाने निधो भएको छ भाईको पनि नाम छ।
मेरो भोलीको काम सम्झीएर एक्छिन घोतलीए…
म: हुन्छ दाइ !
भने,
बेलुकाको लगभग ६ बजे फेरि फोन आयो, त्यो फोन प्रबिन दाईको थियो मैले फोन उठाए।
म: दाई नमस्कार !
प्रबिन: भाइ भोलि तमोर र्याफ्टिङ जाने कुरा जानकारी भयो नि !
म: भयो दाई, भने
भोलि पल्ट बिहानै ५ बजे बिकास दाईले फोन गरेर ६ बजे छाता चोकमा भेला हुने जानकारी दिनु भयो। पहिलो पटक र्याफ्टिङ गर्न जादैछु, एकातिर डर अर्को तर्फ पहिलो अनुभव गर्न पाएकोले उत्साहित पनि थिए।
चैत १२ गते बिहान ६ बजे छाता चोकमा रहेको बाजेको खाजा घरमा भेला भएर चिया खाजा खादै दाईहरु संग परिचय भयो। हाम्रो र्याफ्टिङ गर्न जाने जम्मा ११ जनाको टिम थियो। धरान १८ का वडा अध्यक्ष दाइ नरेन्द्र राई (प्रबिन)को नेतृत्वमा कार्यपालिका सदस्य बिकास भाटी, फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्ष बिकास चाम्लिङ राई, आदणिय पत्रकार रोहित कोयु राई र म धरान हङकङ मन्चका सल्लाकार सदस्यहरु रमेश लिङ्देन, रबिन तामाङ, तारा लिम्बू, गजेन लिम्बू आशिष् लिम्बू र हेमराज लिम्बु उहाँहरुले हङकङमा रहेर पनि धरानको हरेक क्षेत्रमा साथ सहयोग गर्दै आईरहनु भएको छ।
प्रबिन दाईको नेपाल र हङकङमा रहेका समकालीन साथीहरु बर्षमा एक पटक जमघट गर्ने प्रचलन रहेछ। त्यही शिलसिलामा यसपटक चाहिँ तमोर र्याफ्टिङ जाने निधो भएको रहेछ। उहाँहरुको टिममा हामी ३ जना पत्रकारलाई पनि निमन्त्रणा गरेर सहभागी हुने अवसर मिल्यो।
लगभग बिहानको ७ बजे हामी छाता चोकमा रहेको तमोर र्याफ्टिङ एडभेन्चरको अफिसबाट २ वटा बुलेरो गाडीमा हाम्रो यात्रा तमोर तिर अगाडि बढछ। बाल्यकाल देखि हङकङ हुँदै नेपाल र अहिले सम्मको घटनाका किस्सा..हरु तारा दाईले ठटयौली ! गर्दै सुनाउदा हाँसो समाहाल्न हामीलाई गाह्रो भएको थियो। उहाँको धराने टोनमा किस्सा भन्ने शैली जो कोहिले पनि हाँसो थाम्न सक्दैन थियो। हामी त हाँस्दा हाँस्दै तमोर पो पुगीएछ, समय बितेको पतै भएन।

तमोर (मुलघाट) पुगे पछि ३/४ जनाले नास्ता खाइयो। पुलमा सामुहिक तस्वीर खिचेर नदि तिर र्याफ्टिङको लागि हाम्रो पैदल यात्रा सुरु हुन्छ। म चाहिँ र्याफ्टिङ गर्न डर लागेकोले तमोर देखि गाडीमा फर्कने सोचले जिन्स पेन्ट जुत्ता लगाएर गएको थिए। आदणिय पत्रकार हाम्रो एउटै नाम भएकोले हामी मिता पनि भन्छौ रोहित कोयु सर संग यो कुरा शेयर गरे। उहाँले सरल सान्ता बोलि तर जोशिलो सब्दले सम्झाए पछि म र्याफ्टिङ गर्न रेडी भए र हाफपेन्ट र चप्पल किनेर उत्साहित हुँदै र्याफ्टिङको सुरु गर्ने ठाउँ तिर लागे।

बोर्ड (र्याफ्ट) मा गाईड र दाईहरु मिलेर हावा भर्न थाल्नुभयो। एउटा बोर्ड निलो र अर्को बोर्ड रातो कलरको थियो। लाईभ ज्याकेट र सेफ्टी हेल्मेट लगाए पछि मेरो हातमा एउटा पेपर र कलम आयो त्यहाँ आफ्नो विबरण भरे, दुर्घटना भयो भने खबर गर्नको लागि परिवारको एक जनाको विबरण दिनु पर्ने थियो। केही बेर अगाडि उत्साहित भएको उत्साह केही डाउन भयो।
गाईड साइलाले हामीलाई सेफ्टी बिर्फिङ्ग दिन थाल्नु भयो १५ मिनेटको बिर्फिङ्ग पछि हाम्रो र्याफ्टिङको यात्रा सुरु भयो। गाईडबाट प्याडल फरवार्ड, स्टप फेरि अल व्याक जस्तो काँसन आउन थाल्यो। पहिलो (र्यापिड) छाल आयो मत डरले पूरा आँखा चिम्लीएछु फेरि समतलमा आए पछि आँखा खोले। निलो नदिको पानी माथीको यात्रा समतलमा त सुस्तरी बोर्ड चलेको स्वर्गिक आनन्दनै महशुस भयो।

दाईहरुको किस्सा र हाम्रो हाँसोले तमोरको सुशेली पनि फिक्का भएको थियो। धेरै बर्ष पहिले धरानका पत्रकारहरुको टिम र्याफ्टिङ जांदा र्यापिडमा राजेश बिद्रोही दाइ खसेको र दाईले एक हप्ता सम्म पानी नखाएको अनि हर्ष दाईले राजेशले माछा देखेर पकडनु गएको भन्दै हँसाएको बिकास दाईको किस्सा.. ले हाम्रो र्याफ्टिङ यात्रा खुब रमाईलो भैरहेको थियो।
फेरि र्यापिड आयो गाईडले प्याडल फरवार्डको काँसन गर्यो। एकछिन पछि स्टप यस्तै अल व्याक, फाष्टर र डाउनको काँसन गाईडबाट यात्रा नै भरी चलिनै रहयो। (कायाकिङ) उद्वारकर्मी बिबेक थापा भाइ अगाडि अगाडि सानो बोर्टमा उसको खिस्सा हाँसो नदिमा मारेको डुबुल्कीले हाम्रो र्याफ्टिङको यात्रामा अझ मनोरन्जन दिईरहेको थियो।

तमोर पुल (मुलघाट) देखि १५ किलोमिटर पार गरे पछि तातोपानी माहाभारतमा पोलेको मासु खाने सल्लाह भयो। धरानको कालो सुगुरको मासु पोलेर खाजा सहित भर्लाको पातमा अचार र जलपान संग खाँदा झण्डै र्याफ्टिङको मजा नै भुलिएछ। पत्रकारहरु भिडियो फोटोको पर्यावाची नै हुन भन्ने कुरा त्यहाँ हामी बिकास दाइ, रोहित कोयु सर र मैले प्रमाण पेस गर्दै थियौ। अरु सबै आगो फुक्न दाउरा खोज्न मासु पोल्न लाग्नु भयो हामी चाहिँ फोटो भिडियोमा नै व्यस्त थियौ।
पोलेको मासु र खाजा खाए पछि (र्याफ्टिङ) जलयात्रा सुरु भयो। दुबै साईट नाङ्गो पहाड, विभिन्न आकृती भएको ढुङ्गा त्यो माथी हाम्रो केही बैज्ञानिक र केहि आध्यत्मिक ठटयौली विश्लेषण, पानीमा मोबाइल झर्ने डर फोटो र भिडियोको लोभ त्यो क्षणको वर्णन गर्ने कुनै शब्दनै छैन। बिकास दाई पौडी खेल्दै डुबुल्की मारेको देख्दा आफुलाई पौडी खेल्न नआएकोमा पहिलो पटक पछुतो लाग्यो।

हाम्रो जलयत्रामा धनकुटाको भुगोल पार गर्दै सप्तकोशीको त्रीबेणी तिर अगाडि बढदै थियो। म चाही सुरु देखि बोर्डको पिछाडी बसेको थिए पानीको छालले कम भिजेको भन्दै रोहित कोयु सरको मलाई भिजाउने इच्छा प्रबिन दाईले प्याडलले पानी छ्यापेर पूरा गरिदिनु भयो। दिउसोको ४ बजेर ३० मिनेटमा त्रीबेणीमा पुगेर त्यहाँ रहेको एक घरमा खानाको तयारी भएको रहेछ। गाँउले परिकार बिचमा बईलर कुखुराको मासु देखे पछि बिकास दाईले “अर्गानिक खाना तर बईलरको मासु शहर त्रीबेणी छिरेछ” भन्दै ठटयौली गर्नु भयो। आज भोली गाँउको टिपिकल खानाहरु बिस्तापित हुदैछ, बिदेशी शहरीय खानाहरु स्थापित हुँदै छ।
खाना खाई सकेपछि सप्तकोशीको जलयात्रा सुरु भयो । किरातीहरुको आस्थाको धरोहर खुवालुङ्लाई सेवा गर्दै। सप्तकोशीको चिसो हावा पुरै भिजेको शरीर मज्जाले नै जाडोको महसुस भयो। हाम्रो र्याफ्टिङको अन्तिम र्यापिड सप्तकोशीमा रोहित कोयु सरले मोबाईल नदिमा खस्न सक्ने जोखिम मोलेर हाम्रो भिडियो खिच्नु भयो। सानो मिस्टेक हुनसाथ मोबाईल नदिमा खस्थीयो।

कोकाहा खोला र सप्तकोशीको संगम स्थल धर्तीको पहिलो तिर्थ स्थल बराहक्षेत्र, गुप्तबराहको दर्शन गर्दै चतराको कोशीपुलमा बेलुकाको ६ बजे हाम्रो जल यात्रा समाप्त भयो। मेरो पहिलो अनुभव तमोर र्याफ्टिङ जिवनको ऐतिहासिक क्षण बन्यो। यो अवसरको लागि प्रबिन दाइको टिम प्रती हार्दिक आभार व्यक्त गर्दछु।
नेपालमा सन १९७६ मा सुरु भएको र्याफ्टिङ कर्णाली, त्रीशुली, भोटेकोशी र तमोर लगाएतको नदीहरुमा संचालनमा छ। साहाशिक खेल मध्य एक र्याफ्टिङलाई प्राथामिकतामा राखेर अगाडि बढने हो भने नेपालको पर्यटन बिकासमा महत्व पुर्ण भुमिका खेल्ने छ।
