
धरान – १६ रंगशालामा संचालन भैरहेको २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाईटेड क्लब काठमाडौ बीच भोलि शनिबार उपाधीको लागी प्रतिस्पर्धा हुँदै छ ।
दुईपटक बिजेता एनआरटी तेस्रोपटक उपाधि नजिक पुगेको हो भने चर्चब्वाईजले बुढासुब्बा गोल्डकपमा पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको हो । एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसि भारतलाई पराजित गरेको थियो । चर्च ब्वाईजले भने ४ पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको हो।
झापा इलाम सहित ३ प्रतियोगितामा चर्च ब्वाईज र एनआरटि क्लब संगै फाइनल खेलेका छन । एनआरटीका टिम कोच श्याम मालीले “सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै उपाधी चुम्मे बताउनु भयो । चर्च ब्वाईज राम्रो टिम रहेकोले खेललाई राम्रो संग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताउनुभयो ।
यस अघि चर्च ब्वाईजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्च ब्वाईजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्च ब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताउनुभयो । एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उहाँले बताउनुभयो । एनआरटी राम्रो टिम हो तथापी राम्रो खेलेर टिमलाई उपाधी दिलाउने लक्ष्य रहेको चर्च ब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताउनुभयो । धरान रंगशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।