धरान: साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए ।
एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको केएफटिसीले दोस्रोे हाफको सुरुमा नै गोल खान पुग्यो । खेलको ४८ औं मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गरे । सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढंगबाट लेखीले बललाई जाली चुमाएका थिए ।
खेलको ६० औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए । शिशिर लेखिले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेख बरालले रोकेका थिए । रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरेका थिए । लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२ औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।
अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए । खेलको ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरेका थिए । पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो । खेलको १६ औं मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके । खेलको ४९ औं मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्स भित्रबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको शसक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए ।
पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष चापागाईले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकाशिएको थियो । एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो । खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोेल गर्न चुकेका थिए ।
२५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौबीच दिउसो ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।