धरान: पत्रकार महासङ्घ सुनसरी शाखाका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन। मङ्सिर २८ गते भएको निर्वाचनबाट २० सदस्यीय जिल्ला कार्यसमिति र १५ सदस्यीय प्रदेश पार्षद् र केन्द्रीय पार्षद् ५ जना निर्वाचित भएको थियो ।
धरान १५ स्थित धरान किचनमा सुनसरी शाखाको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले सहित पदाधिकारीहरू ४० जनालाई प्रमाण-पत्र हस्तान्तरण गर्दे पदस्थापन गराएका हुन । सुनसरी शाखाका अध्यक्ष सन्तोष काफले सहित ४० जनाले पद ग्रहण गरेका हुन ।
नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्लाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहमा मङ्गलवार नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जालका कारण पछिल्लो समय नकरात्मक समचारले ठाउँ पाईरहेको बताउनु भएको छ।
नेता कोइरालाले प्रेस स्वतन्त्रताको नाममा मिडियामा फेक न्युज बढेकाले खोजी पत्रकारको काम चुनौतीपूर्ण भएको बताए । उनले भने ‘तर इमान्दारीता पूर्वक पत्रकारिता गर्नेहरूले निर्भीक भएर आफ्नो काम गर्नु पर्दछ ।’
धरानमा गोपाल दाहाललाई समाचार लेखेकै कारण धम्की आएको कुरा चर्चामा आएको नेता कोइरालाले उल्लेख गरे । लोकतन्त्रमा प्रेस स्वतन्त्रताको उपभोग गर्दा कसैले केही गर्न सक्ने अवस्था नभएको बताउँदै उनले पत्रकारहरूलाई कुनै अप्ठ्यारो आइपरेमा दलहरू साथमा रहेको उनको भनाई थियो ।
उनले ४९ वर्ष अघि नेपाली काँग्रेसका नेता बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कँदा पञ्चायती तानाशाही कस्तो थियो भन्ने स्मरण पत्रकारहरूलाई गराउँदै भने ‘उहाँलाई नेपालमा मृत्यु दण्ड दिने सक्ने अवस्था थियो ।
बिपी नेपाल फर्कँदा उनको स्वागत गर्न कोही जान्छन् भनेर सरकारले कर्मचारीहरूलाई त्यस दिन बिदा लिन कडा रोक लगाएको थियो । वीर अस्पतालमा आफू कार्यरत रहँदाको स्मरण सुनाउँदै भने ‘कसैले बिदा लिएनन् तर बिपीलाई स्वागत गर्न गए ।’
काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले प्रेस स्वतन्त्रताको प्रत्याभूति भएको मुलुकमा पत्रकारको सुरक्षा राज्यबाट हुनुपर्ने बताए । नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पत्रकारको पेशागत सुरक्षाको सवालमा महिला पत्रकारहरूको अवस्था नाजुक रहेको बताइन् ।
पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले धरानमा प्रेस स्वतन्त्रतामा जोखिम बढेको कुराको अध्ययन गर्न पत्रकार महासङ्घ केन्द्रीय समितिले मिडिया मिसन खटाएको बताए । धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र विक्रम बेघाले प्रेस स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले प्रेस स्वतन्त्रताको निर्बाध उपभोग र पत्रकार सुरक्षाका लागि प्रहरी प्रशासन कटिबद्ध रहेको बताउँदै कसैको लहडले कसै माथि खतरा उत्पन्न हुने स्थिति आउन नदिने प्रतिबद्धता प्रकट गरे ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य अमर खडका, उद्योग वाणिज्य सङ्घ सुनसरी अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना प्रकट गरेका थिए थिए ।
काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, कोशी प्रदेश सभा सदस्य ममता तामाङ,नेकपा माओवादी केन्द्र प्रदेश सदस्य चोत्लुङ, काँग्रेस धरान सभापति श्याम पोख्रेल, एमाले धरान अध्यक्ष हर्कजङ्ग एभेङ, नेकपा माओवादी अध्यक्ष उद्धव लिम्बु लगायत उपस्थित थिए ।