धरान: किराँत समुदायमा मङ्सिर पूर्णिमालाई अन्नबाली भित्राएर थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने (रोप्ने) समयका रुपमा उभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो।
खेतीबारीमा रोपेको धान, कोदोलाई खेतीबाट घरमा भित्राउने र लेखमा हिउँ पर्ने हुदाँ बस्तु भाउको गोठ बेसी खेतबारीमा झार्ने भएकोले उधौली भनिएको हो। मङ्सीरे पुर्णिमामा राई जातीले नाचिने साकेला सिलीहरु ठाउँ अनुसार फरक-फरक हुने अध्यक्ष राईले बताउनुभयो ।
विशेष गरी राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत तराई भेगमा धरान, इटहरी, दमक, उर्लावारी, विर्तामोड, पथरी लगायतका तराई क्षेत्रहरु तिर समेत किरात समुदायले यस पर्व उत्सवका रुपमा मनाउने प्रचलन छ । साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिए पनि पछिल्लो समय विवाह, सामाजिक कार्यक्रमहरुमा पनि नाच्ने गरेकोले पुस्ता हस्तान्तरण पनि भईरहेको अध्यक्ष राईले बताउनुभयो ।
धरान-१२ निवासी ७५ वर्षिय राज कुमार राईले धरानको विभिन्न स्थानहरुमा साकेला थान स्थापना गरिएको छ । जसमा धरान-१७ साकेला थानमा साकेलाको पुजा गरीने र साकेला शिली नाचिने उहाँले बताउनुभयो ।
उधौली पर्वमा पुरुषहरु दौरा सुरुवाल, टोपी लगायत पेचुरी धजुरी, वाबु, बुन्छत, मुर्चुङ्गा छातिमा झुन्ड्यार्ई नाच्ने गर्दछन भने महिलाहरु गुन्युचोली, पटुकीमा लाछा, सिरबन्दी, हारी माला जस्ता गहनाहरु लगाई नाच्ने गर्दछन । साथै हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने प्रचलन रहेको राईले बताउनुभयो । यसरी नाच्दा चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्ने पनि प्रचलन रहेको उहाँले बताउनुभयो ।
साकेलाको समयमा आफ्नो साथीभाईसँगै आफ्नो मौलिक पहिरनमा नाच्ने गरेको धरान-१२ का ईन्कुहाङ राईले बताउनुभयो । हामी किरातहरुको मुख्य चाडहरु मध्ये उधौली पनि एक रहेको उहाँले बताउनुभयो । उधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली भित्राउने बेलामा पूजा गर्दै हातमा ढोल, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर नाचिने र यसरी नाच्नुलाई सिली पनि भनिने राईले बताउनुभयो ।