रोहित कुलुङ राई
दयाहाङ राईद्वारा अभिनित चलचित्र गाउँ आएको बाटोको चर्चित गीत “राई माइलाले गाउँ छाडयो रे…” भने झै नेपाली ठेठ गाँउमा उत्पादित तरकारी र खानाका परिकारहरुले पनि गाँउबाट लोप हुदै गाउँ छाडेछ।
दशै मनाउन भोजपुरको गाउँ पुग्दा हरेक बर्ष गाँउका अर्गानिक ठेठ नेपाली गाँउले खानाहरु बिस्तापित हुँदै गैरहेको महसुस हुन्छ। शहरिया चामल, चाउ चाउ, बिस्कुट, थुक्पा, कोक, डियु, पेप्सी, बियर, रम, सिसिको ह्विस्की र विदेशी स्याउले गाँउले ठेठ खानाहरु घरतरुल, बनतरुल, सुठुनी, आलु, कांक्रा, नस्पती, गुन्द्रुक, सिन्की, ढिडो, थेप्ला, मालेखोले, वाछिपा, कोदोको रोटी, फापरको रोटी, भुटेको मैकै, भटमास, च्याख्ला भात, थेप्ला भात, दहि, महि, सोल्दर, सरुवा, जाँड र लोकल रक्सी लगाएतका खानाका परिकारहरु हराउदै गएको छ।
बिहानै ओछयानमा नै आमाले एक गिलास डियु लिएर आउनु भयो ल डियु खाँ भन्नू भयो। मैले भने “म खाँदिन यहाँको लोकल खाने पिउने जे छ दिनुस यो डियु लाग्नुहोस” आमाले तुरुन्तै जवाफ दिनु भयो “यस्तो महगो चिज पनि कस्तो नखाने भनेको झन दशैमा छोरालाई खुवाउन भनेर डियु किनेर राखेको” माने डबकामा पोखिने गरि जाँड दिने गाँउले परम्परा त डियुले तोडि दिएछ। बिस्तारै शहरका खाद्यान्न र पेय पदार्थ संगै सोचमा पनि शहरिया हस्तक्षेप हुदैरहेछ।
आज भन्दा १ दशक अगाडि गाँउमा पुग्दा बिहानै ओछयानमानै तातो तिनपाने एक गिलास रक्सी, तीन माने डबकामा पोखिने गरि कोदोको जाँड र झर्के तालमा मकै भटमास भुटेर दिईन्थीयो। अहिले त एक गिलास डियु र एक प्याकेट चाउ चाउ पो दिइन्दो रहेछ। बिस्तारै गाउँ नाम मात्रको गाँउ रहने होकि ? यहाँका हावा पानी प्रकृतिक सुन्दरता र खाने कुराहरुले मन प्रफुल भए पनि यी प्रश्नहरुले जो कोहिलाई पनि चिन्तीत बनाउछ।
हामी संगै गाउँ पुगेका किरण दाइ, नन्द थुलुङ भेनाले शहरबाट ल्याएको खाना र पेय पदार्थ नखाने यहाँ बसुन्जेल गाँउमै उत्पादित खाना मात्र खाने अभियान नै चलाईयो। गाँउमै बसेर राजनिती र व्यवसाय गरिरहनु भएका पुष्पा दाईले पनि हाम्रो अभियानमा साथ दिनु भयो। त्यो हाम्रो ११ दिनको अभियानले खासै महत्व नराख्ला तर सानो सन्देश प्रवाह भएको महसुस भयो।
भोलि पल्ट गाउँ घुम्दै जाँदा राजन दाईको घरमा पुगे तोलुङमा महि पार्दै हुनु हुदोरहेछ। महि पारेको तोलुङ्को आवज त्यो सेतो महि र नौनी घ्युको दृश्यले मेरिटेसन गरे झै आनन्द भयो। दाईले एक गिलास महि दिनु भयो एकै घुटकिमा गिलास रिताएछु आहा ! त्यो मिठास, स्वाद र त्यहाँ बाट प्राप्त ईनर्जी वर्णन गर्न नसकिने। गाँउलेहरुले खिसी पो गरे यस्तो मंहगो डियु, बियर खान छाडेर महि पो खाएको ? मलाई अमृत झै लागेको त्यो महि त गाई भैसीलाई खोले बनाएर खुवाउछौ भाइ डियु, बियर आएपछी मोहि जाँड त खाना छाडी सकियो गाँउलेहरुले भन्दै राजन दाईले सुनाउदा मनै अमिलो भयो।
दशैमा ओलो घर पल्लो घर तल्लो घर माथिलो घर आफन्तकोमा दशैको टीका लगाउन जाँदा सिसाको सेरे बोतलमा खोयाको बिर्को लगाएको तीनपाने र सालको पातको ढकाने दुनामा भुटेको मासु र फिलुङ्गेको अचार कोशेली बोक्ने चलन थियो। अहिले त एक बोतल कोक वा डियु एक प्याकेट चाउ चाउ एक पुरिया बिस्कुट बोक्न थालेका रहेछन। कोशेली माथि पनि अतिक्रमण नै भन्नू पर्ला ! विकास पनि हुनुपर्छ विकासको नाममा स्थानीय चिजलाई विस्थापित हैन स्थानीय चिजको जर्गेना पनि जरुरी छ । जाँड, रक्सी खानु पर्छ भन्ने आसय हैन जसले बियर, ह्विस्की खान्छन उनिहरुले चिसो पानी केमिकल रहित कोदोको जाँड तीनपाने खादा आफ्नै स्थानीय उत्पादन खपत हुन्छ भन्ने तर्क मात्र हो।
बिस्तारै ठेठ नेपाली गाउँले खानालाई शहरीया खानाले विस्थापित गर्न थालेको छ। डियु, पेप्सी, बियर, रम, चाउ चाउ, बिस्कुट र रिचार्ज कार्ड पहिला भन्दा धेरै बिक्री हुने भोजपुर षडानन्द नगरपालिका २ कुदाक काउले स्थीत कोले गाँउका स्थानीय व्यवसायी कुल बहादुर तामाङ दाइले बताउनु भयो ।
फेरि शहर बजारमा चाहिँ अहिले ठेठ नेपाली गाँउले खानाका परिकारहरुलाई प्राथामिकता दिन थालेका छन। होटल र रेस्टुरेटहरुमा नेपाली खानाहरुको परिकारहरु जाँहा पाईन्छ त्यहाँ खानाका पारखीहरुको बढी जमघट हुने धरानका होटल व्यवसायीहरु बताउछन।
शहरमा अर्गानिक खानाको बिषय चर्चा र प्राथामिकतामा छ ठिक उल्टो गाँउमा बजारिया र विदेशी खानाको प्राथामिकता बढेको छ। बिकास उन्मुख रहेको देश नेपालमा राजनैतिक, व्यवसायिक, धार्मिक, संस्कृती, भाषा र भेषभुषा हुँदै हामीले खाने खानाका परिकारमा पनि विदेशी हस्तक्षेप हुन थालेका छन। विदेशी रक्सी, ह्विस्की नेपालको जुनै ठाँउमा सजिलै उपलब्ध हुन्छ तर नेपाली लोकल तीनपाने रक्सी प्रतिबन्ध गरिन्छ यो एउटा सानो उद्वारण हो।
विश्वका धेरै देशहरु आफ्नो खानाको परिकार विश्वबजारमा र आफ्नो देशमा आउने विदेशी पर्यटकलाई खुवाएर देशको अर्थतन्त्रमा ठुलो उपलब्धी हाँसिल गरेका छन। नेपालको ठेठ खानाका परिकारहरु दिनानु दिन लोप हुदैछ र विदेशी खानाका परिकारहरु भित्रीदै छ। खाना आफ्नो इच्छा र स्वाद संग सम्बन्धीत भए पनि स्थानीय खाना र बाह्वय खाना बिचको महत्व र अपनत्वलाई ख्याल गर्नु जरुरी छ।
स्वाच्छ अर्गानिक गाँउले इस्कुस, करेला, इस्कुसको मुन्टा, फर्सीको मुन्टा, रायो साग, तोरी चम्सुरको साग, आलु, बोडी, दाल, मस्याम, सिबी लगाएतको तरकारी गाई, भैसी, बाख्रा, सुगुरलाई खोले बनाउदै खुवाउदै शहर बजार बाट ल्याएको सोयाविन (निउटोला) र रगं मिसाएको हरियो मटर जस्ता तरकारी गांउमा खाना थाले पछि, केमिकल मिसावाट भएको भारतबाट आएको तरकारीले हाम्रो भान्सा उज्यालो हुन थाले पछि गाँउले तरकारीहरुले पनि गाउँ छाडेका हुनु पर्छ।
शहर बजारका बासिन्दाहरु शिक्षित भए संगै स्वास्थ्यमा ख्याल गर्न थालेका छन। स्वास्थ्य संग जोडिएको पहिलो महत्व पुर्ण कुरा खाना नै हो। केमिकल रहित खानामा जोडदिन्छन तर अर्गानिक गाँउले तरकारीहरु उत्पादन प्रयाप्त मात्रामा नहुदा केमिकल प्रयोग गरेका खाना खान बाध्य छन। खानाकै कारण नेपालीहरु सरदर रोगीको संख्या बढदै गईरहेको छ। ती गाउँ छाडेका तरकारी र खानाका परिकारहरु शहर तिर पनि न आएकाले लोप हुँदै जाँदैछ भन्ने कुरा प्रष्ट हुन्छ।
कृषि प्रदान देश नेपाल भनी रहदा लगभग किसान बिहिन देश बन्दैछ। सरकार, सरोकारवाला र सम्बन्धीत पक्षको ध्यान जान अत्यन्तै जरुरी छ। विकास पनि हुनुपर्छ विकासको नाममा स्थानीय चिजलाई विस्थापित हैन स्थानीय चिजको संरक्षण र जर्गेना पनि गर्नु पर्दछ। यी विषयमा चासो नदिने हो भने स्थानीय खानाहरु बिस्तापित हुदै नेपालको गाउँ गाँउमा पिजा, बर्गर, र ह्विस्की मात्र खाना पाउने दिन न आउन भन्न सकिन्न।