कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले धरानलाई कोशी प्रदेसको पहिलो गन्तव्य बनाउन प्रदेस सरकारले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका छन।
इलाका प्रहरी कार्यालयमा नवनिर्मित हिरासत भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टी, जात, धर्म र वर्ण नहेरी हामी नेपाली हामी धरानको नेपाली हामी धराने भनेर धरानको बिकासमा लाग्न धरानका सामाजिक र राजनैतिक नेतृत्वलाई आग्रह गरेका छन।
आफैमा धरान सुन्दर छ यहाँ धार्मिक जातिय बिविधता भएको शहरमा जात, धर्म अगाडि पिछाडी बाट नहेरी धरानमा स्वागत गर्नु पर्छ त्यो अवस्था भए केन्द्र, प्रदेश बाट बजेट ल्याई धरानको बिकास गर्ने सन्देश दिन पनि आफू धरान आएको मुख्यमन्त्री कार्कीले बताए।
मनोरम प्राकृतिक दृष्यावलोकन गर्न आउने, गर्मी छल्न आउने, बजार भर्न आउने ठाउँ हो धरान । सबै कुराको महत्वपुर्ण संगमस्थल हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘पुरानो धरान फर्काएर अझ गतिको साथ कोशी प्रदेशकै सास्ँकृतिक केन्द्र, धार्मिक पर्यटकीयस्थल, खेलकुद, सबै विधामा उत्कृष्ट धरान निर्माण गर्न आग्रह गरे’।
मुख्यमन्त्री कार्कीले प्रहरीले अनुसन्धानको क्रममा अपराधी मात्र नभै अपराधमा संलग्न नभएका व्यक्तिलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिनुपर्ने र थुनुवा कक्षको अवस्थाले नकरात्मक सोच उत्पन्न हुन नदिने धरानमा जस्तै हिरासत भवन सबै प्रहरी कार्यालयमा बन्नुपर्ने बताए । ‘त्यस्तो व्यक्ति आउदा हिरासत कक्ष सकरात्मक मनस्थिति बन्ने हुनुपर्छ । मान्छे यहाँ आउदा डिप्रेसनमा जाने, अपराध गर्न उद्दत हुने हुनुहुदैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसैले यस्ता भवनहरु मानवअधिकारको दृष्टिकोणले मात्र होइन, न्यायिक हिरासत भएकोले सुविधासम्पन्न हुनुपर्छ ।’
हिरासत भवन निर्माण समितीका अध्यक्ष मीन सुब्बाले तत्कालिन इलाका प्रहरी कार्यलय धरानका प्रमुख रामेश्वर पौडेलको परिकल्पनामा केन्द्र सरकार, विशेष प्रदेश सरकार, स्थानीय सरकार र समुदाय स्तर बाट प्राप्त सहयोग बाट आधुनिक हिरासत भवन बनेको जानकारी दिएका छन।
हाल दुई तलाको हिरासत भवनमा ८ वटा कोठा रहेको छ । हाल २ सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । यो हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमुना बनेको छ । भविष्यमा ५ तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र जग पनि निर्माण गरिएको सुब्बाले जानकारी दिए ।
यो भवनको २०७५ सालमा मुख्यमन्त्री हिक्मत कार्की तत्कालीन प्रदेश सरकारको आन्तरिम मामिला मन्त्री हुदा शिलान्यास गरेका थिए । शनिबार भवनको उद्घाटनसँगै इलाका प्रहरी कार्यालय धरानलाई औपचारिकरुपमा हस्तान्तरण पनि गरिएको थियो । इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिका अध्यक्ष मीन सुब्बाले भवनको चाबी इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी प्रकाश जवेगुलाई हस्तान्तरण गरेका थिए ।
हिरासत भवनको उद्घाटन समारोहलाई प्रदेश सांसद विजय कुमार राई, प्रदेशका पुर्वसभामुख प्रदीप भण्डारी, उपमेयर आइन्द्रबिक्रम बेघा, नेपाल प्रहरीका एसएसपी भीम दाहालले पनि सम्बोधन गरेका थिए ।
उक्त भवन संघ, प्रदेश, नगरपालिकासँगै देशविदेशबाट सहयोग जुटाएर कुल २ करोड ९ लाख २६ हजार १२ रुपैंयामा निर्माण सम्पन्न भएको समितिकी कोषाध्यक्ष सविता राईले जानकारी दिइन् ।
मुख्यमन्त्रीको सम्बोधन भिडियो: