धरानका मेयर हर्क साम्पाङ समर्थक सचेत धराने समुहका उपाध्यक्ष समीर तामाङलाई प्रहरीले आज दिउँसो धरानको भानुचोकबाट पक्राउ गरेको छ।
गत हप्ता सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्न ५ जना दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेपछी प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै तामाङलाई पक्राउ गरेको हो। तोडफोडको प्रयास गर्ने लिष्टमा प्रहरीले राखेको थियो ।
तामाङ पक्राउ परेसँगै धरानको पछिल्लो घटनामा समातिनेको संख्या ९ पुगेको छ । साउन ३ गते प्रहरीले सृर्जना बेघा र पुर्ण वान्तवालाई पक्राउ गरेको थियो भने हिजो सोमबार साँझ वडा न. ५ की संगीता राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ।
साउन २ गते वीपी प्रतिष्ठानबाट ५ जना महिला पक्राउ परेपछि ईलाका प्रहरी कार्यालय धरान घेराउ र नाराबाजी भएको थियो । त्यसबेला प्रहरी कार्यालयको गेट लात्ती हान्ने, जर्बजस्ती हल्लाउने र चढेर भित्र प्रवेश गर्ने प्रयास पनि भएको थियो । प्रहरी प्रशासनले उक्त घटनालाई संवेदनशीलरुपमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।