इटहरी: कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरु चिनाउनका लागि शुक्रबारदेखि इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ गरिने भएको छ ।
नेपाल तथा भारतका व्यवशायीहरुलाई जोड्ने गरि गरिएको कार्यक्रममा भारत, भुटान तथा बंगलादेश र नेपालका विभिन्न ठाउँहरुबाट ८० भन्दा बढी पर्यटनकर्मी, व्यवशायी तथा पत्रकारको सहभागिता रहने बताइएको छ ।
कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायको विकासका लागि कार्यक्रम गर्न लागिएको संयोजक भविस श्रेष्ठले जानकारी दिए । उनले यो पटकको कार्यक्रममा कोशी प्रदेशमा पनि तारे होटल छ भन्ने कुरालाई हाइलाइट गर्न लागिएको बताए ।
‘विदेशीहरुले कोशीमा पनि तारे होटल छ र भनेर सोध्छन्,’ उनले भने, ‘छैन भन्नुपर्दा हामी खिन्न हुन्थ्यौं, यो पटक हामीसँग भएका पुर्वाधारहरुसमेत पर्यटन व्यवशायीहरुलाई देखाउन चाहन्छौं ।’ उनले पर्यटन विकासमा व्यवशायीहरु लागिपरेको बताउँदै सरकारले अझ तीव्रताका साथ काम गर्नुपर्ने औंल्याए ।
इटहरीको पाँच तारे होटल सोल्टी वेस्टेण्डमा उद्घाटन गरिने कार्यक्रमको समापन झापाको मेची क्राउनमा गरिने बताइएको छ । यहाँ कोशी प्रदेशमा हालसम्म संचालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु र धार्मिक स्थलहरु, हस्पीटालिटि मेनेजमेन्ट कलेजहरु गरी ३० वटाभन्दा बढी स्टल रहने समितिका सचिव बासुदेव बरालले जानकारी दिए । कार्यक्रमको समापन झापाको अर्को पाँच चारे होटल मेची क्राउनमा हुनेछ ।
नेपाल बाहेकका आमन्त्रीत व्यवसायीहरुलाई कार्यक्रमको दोश्रो दिन २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराईने समितिका कोषाध्यक्ष तेजबहादुर पुरीले बताए ।
पर्यटनकर्मी देवी गौतम रविनका अनुसार यो पटक व्यवशायीहरुलाई फोकस गरेर कार्यक्रम गर्न लागिएको हो । सर्वसाधारणभन्दा पनि व्यवशायीहरुलाई पुर्व चिनाउन सकेमा पुर्वमा पर्यटक ल्याउन सकिने र पर्यटन क्षेत्रको विकास हुने देखेर यो पटक कार्यक्रमको स्वरुप फेरेको बताए ।
नेपाल पर्यटन बोर्डको ३० लाख रुपैया सहयोगमा गर्न लागिएको कार्यक्रमलाई इटहरी उपमहानगरपालिकाले ६ लाख रुपैया सहयोग गर्ने बताइएको छ ।