धरान: महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ ।
बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाकुम्भ अवधिभर एक महिने निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको र नेवार एकता समाजले सोही स्थानमा भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरण गरेको भन्दै सम्मान गरिएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह–अध्यक्ष तथा बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताए ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले सम्मान–पत्र ग्रहण गरेका थिए । उनीहरुलाई मूल आयोजक समितिका अध्यक्ष एवम् अनन्त श्री विभूषित जगदगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले सम्मान–पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए ।
सम्मान ग्रहण गर्दै क्षेत्रीय सभापति तामाङ र अध्यक्ष श्रेष्ठले सामाजिक तथा मानवीय सेवामा पुर्याएको योगदानको मूल्यांकन भएको भन्दै खुशी व्यक्त गरेका छन् । सो अवसरमा प्रदेश सांसद मा. ममता तामाङ, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, नेपाली कांग्रेसका प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र–२ का सभापति अमर कटवाल लगायतका नेताहरको उपस्थिति रहेको थियो ।