प्रेस युनियन सुनसरीले सोमबार बिहान इटहरीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सद्स्य पुर्ब अर्थमन्त्री रामशरण महतले सहकारी ठगीमा मुछिएका रवि लामिछाने आफै गृहमन्त्री भएर अनुसन्धान प्रभावित पारेको बताउँदै उनले सरकारले संसदीय छानबिन समिति गठन गर्न नदिएको उल्लेख गरे ।
संसदीय छानबिन समिति गठन गर्दा लामिछाने दोषी देखिने सम्भावना रहेको र सरकारलाई दिएको समर्थन फिर्ता हुने डरले छानबिन समिति गठन गर्न सरकार अनिच्छुक देखिएको बताए ।
अहिले जसरी सरकार परिवर्तन भएको छ यसले धेरै अन्यौलता सृजना गरेको पूर्व अर्थमन्त्री महतको टिप्पणी छ । गठबन्धनमा आबद्ध दलहरू भित्र चर्को मतभेद र अविश्वास बढेको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरमा अविश्वासको वातावरण सृजना भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा माओवादी (केन्द्र) का पूर्व लडाकुहरूलाई पैसा बाँड्न दबाब दिएको र आफू नमानेको बताए। पूर्व लडाकुलाई मात्र नभएर गैर प्राथमिकताका धेरै क्षेत्रमा पैसा वितरण गर्न दबाब दिएको बताएका हुन् ।
वितरणमुखी काम नगरेको कारण प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेको उनको भनाइ छ । ‘सरकारलाई जनताबाट उठाएको कर गैर प्राथमिकताको क्षेत्रमा खर्च गर्ने अधिकार हुँदैन ।
विधि विधान र कानुन अनुसार खर्च गर्नुपर्ने हुन्छ ।,’ उनले भने, ‘यस्ता धेरै खाले प्रस्ताव आएका थिए । जसलाई मैले अस्वीकार गरेको हो ।’
अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गर्दा पछिल्लो समय सरकार फेरिएपछि आर्थिक अस्थिरता मौलाएको गुनासो गरे । वर्तमान सरकार वितरण मुखी भएको र जनताबाट सङ्कलन गरेको कर आफूखुसी वितरण भएकोमा चिन्ता व्यक्त गरे ।